आज सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना, तराईमा हुरीबतासको चेतावनी

काठमाडौं, भाद्र ०९।

आज सोमबार देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहनुका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, यी दुई प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ। बाँकी प्रदेशका पहाडी भू-भागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

यसैगरी, आज राति पनि देशभरको मौसम सामान्यतया बदली नै रहनेछ। महाशाखाका अनुसार राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। देशका बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?