देशभर मनसुन कमजोर, केही स्थानमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर देखिएको छ भने स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली ल्याएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज (आश्विन ७ गते मंगलबार) देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ र केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीको सम्भावना छ। विशेषगरी, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, अन्य प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुन कमजोर भए पनि स्थानीय वायुको प्रभावले गर्दा केही स्थानमा वर्षाको सम्भावना कायमै रहेकोले आवश्यक सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।
