आगामी ७२ घण्टा देशभर वर्षा र हिमपातको जोखिम, यी तीन प्रदेशमा हुन सक्छ भारी वर्षा
काठमाडौँ ।नेपालमा हाल पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभावका कारण आगामी तीन दिनसम्म देशभरको मौसममा उल्लेख्य बदलाव आउने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज चैत्र २४ गते मंगलबार, दिउँसो पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ । कोशी प्रदेशको तराईका एक-दुई स्थान र देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । मंगलबार राती पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली भेगमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने प्रक्षेपण गरिएको छ ।
त्यस्तै, चैत्र २५ गते बुधबार भने मौसम अझ बढी सक्रिय हुने देखिन्छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने र बाँकी भागमा साधारणतया बादल लाग्नेछ । बुधबार यी चार प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमतीका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली एक-दुई स्थानमा भारी वर्षा र हिमपातको चेतावनी दिइएको छ । सोही दिन मधेश र कोशी प्रदेशका केही स्थानमा तीव्र वेगको हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । बुधबार राती पनि देशभरि नै वर्षा र हिमपातको क्रम जारी रहने देखिन्छ ।
चैत्र २६ गते बिहीबार बाट भने मौसममा क्रमिक सुधार आउने संकेत देखिएको छ । यद्यपि, कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ । बिहीबार राती पहाडी र तराईका केही स्थानमा आंशिक बदली रहे पनि कोशी, गण्डकी र कर्णालीका हिमाली भू-भागमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
मेघगर्जन, चट्याङ्ग, हावाहुरी र भारी वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै विभागले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
