आगामी तीन दिनको मौसम पूर्वानुमान

भारी वर्षा

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको अवस्था छ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका भू-भागमा मौसम सफा रहे तापनि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी भई ‘तातो दिन’ हुने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ। राती भने कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

वैशाख ६ गते आइतबारको मौसम : देशभरको पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहने देखिन्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ। तराईका भू-भागमा आंशिक बदली रहने भए तापनि गर्मीको प्रकोप कायमै रहने महाशाखाले जनाएको छ। रातीको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ।

वैशाख ७ गते सोमबारको मौसम पनि पहाडी र हिमाली भू-भागमा बादल लाग्ने क्रम जारी रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश लगायत अन्य तराईका भू-भागमा भने सोमबार पनि तातो हावा र गर्मी बढ्ने सम्भावना छ।

महाशाखाले वर्षा, हिमपात र तराईमा बढ्दो गर्मीका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?