अब बजारमा गुणस्तरीय गुन्द्रुक मात्रै: सरकारले तोक्यो कडा मापदण्ड
नेपालको मौलिक र लोकप्रिय खाद्य परिकार गुन्द्रुकको गुणस्तर सुनिश्चित गर्न सरकारले पहिलो पटक अनिवार्य मापदण्ड निर्धारण गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को अधिकार प्रयोग गर्दै वैशाख १२ गते राजपत्रमा सूचना प्रकाशित गरी गुन्द्रुक उत्पादन, प्रशोधन र बिक्री वितरणका लागि नयाँ नियमहरू लागू गरेको हो।
नयाँ मापदण्ड अनुसार अब व्यावसायिक रूपमा उत्पादन गरिने गुन्द्रुकमा रायो, तोरी वा मूलाको पात र डुकुलाई ओइल्याएर नुनरहित प्राकृतिक वा ‘प्योर कल्चर’ ल्याक्टिक एसिड किण्वन विधिबाट मात्र तयार पार्नुपर्नेछ। उत्पादन प्रक्रियामा सरसफाइलाई विशेष ध्यान दिँदै फलाम, आल्मुनियम, तामा वा पित्तलका भाँडाकुँडा प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यसले गर्दा गुन्द्रुकमा हुनसक्ने धातुको मिसावट र रासायनिक प्रतिक्रियालाई नियन्त्रण गर्ने सरकारको लक्ष्य छ।
प्राविधिक रूपमा, सुक्खा गुन्द्रुकमा चिस्यानको मात्रा बढीमा १२ प्रतिशत मात्र हुनुपर्नेछ भने ल्याक्टिक एसिडको मात्रा कम्तीमा ०.८ प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको छ। बजारमा पाइने गुन्द्रुक स्वच्छ, गन्धहीन र स्वाभाविक स्वादको हुनुपर्नेछ। यसमा ढुसी, किरा, रौं, पराल, माटो, बालुवा, सिसा वा प्लास्टिक जस्ता कुनै पनि बाह्य पदार्थको मिसावट पाइएमा त्यसलाई अवैध मानिनेछ। साथै, गुन्द्रुकलाई आकर्षक देखाउन कुनै पनि प्रकारको कृत्रिम रङ वा सुगन्ध प्रयोग गर्न पाइने छैन।
प्याकेजिङ र लेबलिङमा पनि सरकारले कडाइ गरेको छ। अबदेखि गुन्द्रुकलाई खाद्य-ग्रेडका सामग्रीमा प्याकिङ गरी लेबुलमा स्पष्ट विवरण खुलाउनुपर्नेछ। यो मापदण्ड राजपत्रमा प्रकाशित भएको ६ महिनापछि पूर्ण रूपमा लागू हुनेछ। तोकिएको मापदण्ड पालना नगर्ने उत्पादक वा बिक्रेतालाई नयाँ ऐन बमोजिम कारबाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। यो कदमले नेपाली गुन्द्रुकलाई अन्तर्राष्ट्रिय बजारमा ब्राण्डिङ गर्न र उपभोक्ताको स्वास्थ्य सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
