देशभर वर्षा र हिमपातको सम्भावना: बागमती र गण्डकीमा भारी वर्षाको चेतावनी

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्र र दक्षिणतर्फ फैलिएको न्यून चापीय रेखाको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावका कारण हाल देशभरको मौसममा साधारणतया बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज वैशाख २० गते आइतबार देशभर साधारणतया बादल लाग्ने देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा र देशका बाँकी भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। रातीको समयमा पनि सुदूरपश्चिम र कर्णाली बाहेकका अन्य प्रदेशका धेरैजसो स्थानमा हावाहुरी र वर्षाको सम्भावना रहेको छ।

भोलि वैशाख २१ गते सोमबार पनि मौसममा खासै सुधार हुने देखिएको छैन। सुदूरपश्चिम लगायत देशका पहाडी र हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपातको योग रहेको छ भने तराईका केही स्थानमा हावाहुरी र असिना पानीको सम्भावना छ। सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा र राती लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी, वैशाख २२ गते मंगलबार पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा बदली र वर्षाको क्रम जारी रहने देखिन्छ। पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षा हुने तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षा, चट्याङ्ग, असिना र हावाहुरीका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?