देशभर वर्षा र हिमपातको सम्भावना: सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय प्रणालीको मिश्रित प्रभावका कारण देशभरको मौसममा उल्लेख्य बदलाव आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ। यस्तै, कोशी, कर्णाली, लुम्बिनीका पहाडी क्षेत्र र हिमाली भू-भागमा पनि बादल लागेको छ।

आज सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। रातिको समयमा पनि देशभरको मौसम बदली भई पहाडी र हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको क्रम जारी रहने देखिन्छ।

यसैगरी, भोलि मंगलबार पनि मौसममा खासै सुधार हुने देखिएको छैन। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। रातिको समयमा कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ।

पर्सि बुधबार पनि कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। ती प्रदेशका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना यथावत रहने पूर्वानुमान गरिएको छ। देशभर वर्षा, हिमपात, हावाहुरी र चट्याङ्गको जोखिम रहेकाले कृषि, यातायात र दैनिक जनजीवनमा पर्न सक्ने असरप्रति सतर्क रहन विभागले सबैमा अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?