आगामी तीन दिनको मौसम: केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना, पश्चिम तराईमा भने ‘तातो हावा’
काठमाडौँ, ५ जेठ ।हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण देशभरको मौसममा बदलाब देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाले सार्वजनिक गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार आज मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत अन्य प्रदेशका तराई भू-भागमा आंशिक बदली रहने भए तापनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढी भई ‘तातो दिन’ (Heat Wave) हुने सम्भावना देखिएको छ । रातीको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, भोलि जेठ ६ गते बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको क्रम जारी रहने महाशाखाले जनाएको छ । बुधबार मधेश प्रदेश लगायत अन्य पहाडी भू-भागमा पनि वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तातो हावा र बढ्दो गर्मीको प्रभाव कायमै रहने देखिन्छ ।
आगामी ७ गते बिहीबारको मौसममा पनि विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुने प्रक्षेपण गरिएको छ । तराईका बाँकी भू-भागमा मौसम सफा रहे पनि पश्चिम तराईमा गर्मीको लहर जारी रहने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षा, हिमपात र बढ्दो गर्मीका कारण हुन सक्ने जोखिमबाट बच्न सर्वसाधारणलाई सचेत रहन विभागले आग्रह गरेको छ ।
