आगामी तीन दिनको मौसम: पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा बढ्दो गर्मी

काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावका कारण देशका विभिन्न भागको मौसममा बदली र वर्षाको सम्भावना देखिएको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा छ।

महाशाखाले सार्वजनिक गरेको मौसमी बुलेटिन अनुसार, आज सोमबार दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराईका भू-भागमा आंशिक बदली हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना छ। रातिको समयमा सुदूरपश्चिम र कर्णाली लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली भू-भागमा हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ।

जेठ १९ गते मङ्गलबार पनि पहाडी र हिमाली क्षेत्रमा मौसम बदली रहने पूर्वानुमान गरिएको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरू र लुम्बिनी तथा सुदूरपश्चिमको तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ। विशेषगरी तराईका जिल्लाहरूमा गर्मीको प्रकोप बढ्ने देखिएको छ। महाशाखाका अनुसार मङ्गलबार मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा ‘तातो दिन’  हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। रातिको समयमा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

यसैगरी, जेठ २० गते बुधबार पनि पहाडी र हिमाली भू-भागमा बदली र वर्षाको क्रम जारी रहनेछ। पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहँदा तराईमा भने गर्मीको प्रभाव अझै विस्तार हुने देखिन्छ। बुधबार मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत तातो हावा र गर्मी बढ्ने सम्भावना रहेको छ। रातिको समयमा देशको पहाडी भू-भागमा आंशिक बदली रही हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?