विदेशी भूमिमा हण्डर खाएपछि स्वदेशमै ‘ठेकी’ उद्योग: कृष्ण बहादुरको सफल उद्यमी यात्रा
सुख र समृद्धिको सपना बुनेर विदेशी भूमिमा पसिना बगाउने नेपालीहरूको संख्या ठूलो छ। तर, त्यहाँको हण्डर र ठक्करपछि स्वदेश फर्किएर आफ्नै पुर्ख्यौली पेशालाई आधुनिक ढंगले अगाडि बढाउनेहरूले भने समाजमा एउटा छुट्टै उदाहरण पेश गरिरहेका छन्। यस्तै एक सफल पात्र हुन्, धनकुटाका कृष्ण बहादुर विश्वकर्मा, जसले अहिले ‘पन्चकन्या घरेलु ठेकी उद्योग’ मार्फत नेपाली मौलिक काष्ठकलालाई व्यावसायिक रूप दिइरहेका छन्।
विश्वकर्माले झण्डै ५–६ वर्ष विदेशी भूमिमा श्रम गरे। तर, विदेशमा सोचेजस्तो सफलता र सुख नमिलेपछि उनले आफ्नै बाजे-बराजुले गर्दै आएको ठेकी बनाउने पेशालाई नै अँगाल्ने निर्णय गरे। उनी भन्छन्, “विदेशमा दुःख गर्नुभन्दा आफ्नै पुर्ख्यौली सीपलाई बजारमा ल्याउनु उपयुक्त ठानेर म यो व्यवसायमा लागेको हुँ।” हाल उनको उद्योगले ८ देखि १० जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको छ, जुन आफैँमा एक उल्लेखनीय उपलब्धि हो।
उनको उद्योगमा विशेष गरी ‘दारको काठ’बाट बनेका ठेकीहरू मुख्य आकर्षण हुन्। दारको काठ अत्यन्तै बलियो हुने र यसमा जमाएको दही तथा पारेको मही निकै स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक हुने उनी बताउँछन्। उद्योगले १ मानादेखि २५ लिटरसम्मका ठेकीहरू उत्पादन गर्दै आएको छ। मूल्यको हिसाबले सानो ठेकी १५०० देखि २००० रुपैयाँसम्म पर्छ भने ८ लिटरको ठेकीलाई ८००० र १५ लिटरको ठेकीलाई १५००० रुपैयाँसम्म पर्ने जानकारी उनले दिएका छन्।
ठेकीका अतिरिक्त विश्वकर्माको उद्योगमा ओखल, करुवा, मदानी, माना, पाथी, चपिङ बोर्ड जस्ता घरायसी सामग्रीका साथै आकर्षक काठका वाइन ग्लास र कफी कपहरू पनि उपलब्ध छन्। उनले निमको काठबाट बनेका चम्चाहरू पनि तयार पार्छन्, जुन स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ। साथै, जङ्गली सिसाउको जराबाट बनेका आकर्षक बुट्टा भएका बटुका र थालहरूले उपभोक्ताको मन लोभ्याउने गरेका छन्।
आजको आधुनिक युगमा प्लास्टिक र आल्मुनियमका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा मानव स्वास्थ्यमा क्यान्सरजस्ता गम्भीर रोगको जोखिम बढिरहेको प्रति उनी चिन्ता व्यक्त गर्छन्। “काठका प्राकृतिक सामग्रीको प्रयोगले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ,” उनी भन्छन्। नयाँ पुस्ताले आफ्नो मौलिक परम्परा र सामग्रीहरू बिर्सिँदै गएको अवस्थामा यस्ता सामग्रीको प्रवर्द्धन गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए।
हाल धनकुटामा मुख्य कारखाना रहेको यस उद्योगका बिक्री केन्द्रहरू धनकुटाको हिले बजार (हिले कोसेली घर) र काठमाडौँको बौद्ध तिनचुली (पन्चकन्या कोसेली घर) मा रहेका छन्। उपभोक्ताको मागलाई ध्यानमा राख्दै उनले नेपालभर होम डेलिभरीको व्यवस्था समेत गरेका छन्। इच्छुक ग्राहकले ९८५१०३०५७१ वा ९८२९३४६४३० मा सम्पर्क गरी सामान मगाउन सक्नेछन्। कृष्ण बहादुरको यो यात्राले स्वदेशमै केही गर्न चाहने युवाहरूका लागि ठूलो प्रेरणा प्रदान गरेको छ।
