आयातित केरामा सरकारको कडाइ: सहरिया उपभोक्ताको रोजाइमा पहाडका रैथाने केरा
सरकारले बाह्य मुलुकबाट हुने केराको आयातमा कडाइ गरेसँगै नेपाली पहाडी भेगमा फल्ने रैथाने केराको महत्त्व र बजार ह्वात्तै बढेको छ। कुनै समय बजार नपाएर गाउँघरमा सुँगुर र भैँसीलाई कुँडोको रूपमा खुवाइने स्थानीय जातका केराहरूले अहिले काठमाडौँका उपभोक्ताहरूको मन जित्न थालेका छन्। यसै क्रममा उदयपुरका किसान तथा व्यापारी रुपेन्द्र राईले आफ्नो गाउँघर र पहाडी भेगमा उत्पादित विभिन्न प्रजातिका अर्गानिक केराहरू सङ्कलन गरी काठमाडौँको रैथाने कृषि हाटबजारमा ल्याएर बिक्री गरिरहनुभएको छ।
राईका अनुसार सरकारले आयातित केरामा देखाएको सक्रियताले स्थानीय किसानहरूलाई ठुलो ऊर्जा मिलेको छ। उहाँले अहिले काठमाडौँका उपभोक्ताका लागि गाउँबाट ‘अठिया’, ‘मर्चे’, ‘झपरी’ र ‘बुङ्गो नहुने’ जस्ता रैथाने प्रजातिका केराहरू ल्याउने गर्नुहुन्छ। “पहिले गाउँमा यी केराहरू बिक्दैनथे, हामीले गाईवस्तु र सुँगुरलाई खुवाउँथ्यौँ,” राई भन्नुहुन्छ, “तर अहिले काठमाडौँका उपभोक्ताहरू स्वास्थ्यप्रति सचेत हुनुभएको छ। विषादीरहित र प्राकृतिक रूपमा पाकेका यी केराहरू अहिले खोजी–खोजी किन्न आउनुहुन्छ।” विशेष गरी ‘अठिया केरा’ लाई औषधीय गुण भएको र प्रोटिनको राम्रो स्रोत मानिने हुनाले सहरमा यसको माग उच्च छ। यो केरा अहिले प्रतिदर्जन २५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
सहरमा पाइने टल्कने र आकर्षक देखिने आयातित केराहरू धेरैजसो ‘कार्बाइड’ जस्ता हानिकारक रसायन प्रयोग गरेर पकाइएका हुन्छन्। तर, राईले ल्याउने पहाडी केराहरू पूर्ण रूपमा प्राकृतिक र विषादीरहित छन्। गाउँमा गाईवस्तुको गोबर मल प्रयोग गरेर उमारिएका यी केराहरू बोटमै प्राकृतिक रूपमा पाक्ने गर्दछन्। मर्चे केरा धेरै समयसम्म नबिग्रिने र झपरी केरा सबैभन्दा स्वादिलो हुने हुँदा उपभोक्ताहरूले यस्ता स्थानीय उत्पादनलाई बढी रुचाएको उहाँको अनुभव छ।
नेपालको पहाडी भूगोल केरा उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको बताउँदै राईले सरकारले यस्ता रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो। आयातमा रोक लाग्दा स्थानीय किसानले आफ्नो श्रमको उचित मूल्य पाउन थालेका छन्। यदि सरकारले पहाडी भेगको केरा खेतीलाई प्राथमिकता दिएर नीतिगत सुधार गर्ने हो भने नेपाल केरामा आत्मनिर्भर हुन सक्ने राईको विश्वास छ। राईले जस्तै अन्य किसान र व्यापारीहरूले गाउँका उत्पादन सिधै सहरसम्म पुर्याउने वातावरण बन्दा एकातिर किसानको आर्थिक अवस्थामा सुधार आएको छ भने अर्कोतिर उपभोक्ताले स्वस्थ र मौलिक स्वाद पाउन थालेका छन्।
