आगामी तीन दिनको मौसम: पहाडमा वर्षा र हिमपातको सम्भावना, तराईमा भने चर्को गर्मी
काठमाडौँ, २६ जेठ ।
आज मङ्गलबार दिउँसो र राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहने देखिन्छ । महाशाखाका अनुसार यी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । वर्षाको सम्भावना पहाडी भेगमा रहे पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने केही स्थानमा ‘तातो दिन’ (Heat Wave) हुने सम्भावना रहेकाले गर्मी बढ्ने देखिन्छ ।
भोलि २७ गते बुधबार पनि मौसमको अवस्था उस्तै रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । बुधबार राति भने वर्षाको क्षेत्र अझ विस्तार भई मधेश प्रदेश र तराईका अन्य जिल्लाहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यद्यपि, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने बुधबार पनि गर्मीको लहर कायमै रहने सम्भावना छ ।
आगामी २८ गते बिहीबार देशका अधिकांश हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा दिउँसो वर्षाको सम्भावना रहेको छ भने राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मौसम सक्रिय भई मध्यम वर्षा हुने देखिन्छ । तराईका पश्चिमी भू-भागमा बिहीबार पनि तातो हावा चल्ने र तापक्रम उच्च रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् । पहाडी भेगमा हुने वर्षा र चट्याङ्गबाट जोगिन तथा तराईमा बढ्दो गर्मीबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ ।
