आगामी तीन दिनको मौसम : पहाडी भू-भागमा वर्षा र हिमपातको आकलन, तराईमा तातो हावाको जोखिम
काठमाडौँ, ११ असार ।नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायुको प्रभाव क्रमशः बढ्दै गएको छ भने पश्चिमी क्षेत्रमा अझै पनि पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशको केही भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। बाँकी भू-भागमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।
हाल देशभरको मौसमको अवस्थालाई हेर्दा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली छ। कोशी र मधेश प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक-दुई स्थानमा अहिले मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज बिहीबार दिउँसो देशका हिमाली र पहाडी भू-भागका साथै कोशी र मधेश प्रदेशका तराई भेगमा साधारणतया बदली रहनेछ। बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ। पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै, तराईका केही क्षेत्रमा वर्षाको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागमा भने तातो लहर (लू) चल्ने तथा बागमती र गण्डकीका तराई क्षेत्रमा ‘तातो दिन’ हुने प्रक्षेपण गरिएको छ।
भोलि शुक्रबार १२ गते पनि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने र वर्षा हुने क्रम जारी रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भेगमा वर्षाको सम्भावना रहँदा पश्चिमका तराई क्षेत्रमा भने गर्मी अझै बढ्ने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा तातो लहरको सम्भावना कायमै रहने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। रातिको समयमा भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली भई केही स्थानमा वर्षा हुने सम्भावना छ।
पर्सि १३ गते शनिबारको मौसममा पनि उस्तै उतारचढाव देखिनेछ। शनिबार दिउँसो कोशी र मधेश प्रदेशका तराई भू-भागका साथै पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। सुदूरपश्चिमको तराईमा तातो लहर र लुम्बिनीको तराईमा तातो दिनको प्रभाव जारी रहने देखिन्छ। तर, शनिबार रातिबाट भने मनसुनी प्रभाव थप विस्तार भई कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको मात्रा बढ्ने महाशाखाको पूर्वानुमान छ। वर्षा र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन र गर्मी बढ्ने क्षेत्रमा लूबाट जोगिन आवश्यक उपायहरू अपनाउन विभागले सर्वसाधारणमा अनुरोध गरेको छ।
