पशुपन्छी आयातमा कडाइ

कञ्चनपुर — भारतबाट प्रक्रियाबिना भइरहेको पशुपन्छी र तिनको दानाको आयातमा कडाइ गरिएको छ । निरोगिताको प्रमाणपत्रबिना हुने आयातमा कडाइ गरिएको हो । क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालय गड्डाचौकीले एक महिनादेखि स्वस्थताको प्रमाणपत्रबिना हुने आयातमा कडाइ गरेको जनाएको छ ।

संसदीय समितिको निर्णयअनुसार विभागबाटै प्रक्रियाबिना हुने आयात रोक्न निर्देशन भएपछि चैत पहिलो सातादेखि सुदूरपश्चिमका सबै नाकाबाट हुने आयात रोकिएको छ । ‘यसअघि स्वस्थताको प्रमाणपत्रबिना नै पशुपन्छी तथा अन्य सामग्री आयात हुने गर्थ्यो,’ क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक विनय कुमार कर्णले भने, ‘विभागबाटै प्रमाणपत्रबिना आउन नदिने निर्देशन भएपछि हामीले रोकेका छौं ।’ उनले भारतबाट स्वस्थ्यताको प्रमाणपत्रसहित आएमा कुनै अवरोध नहुने बताए ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ११ मा पैठारी गर्ने पशु तथा पशुजन्य सामग्रीको स्वस्थ्यतासम्बन्धी प्रमाणपत्र नभए रोक लगाउन सक्ने व्यवस्था छ । संसदीय समितिले उक्त व्यवस्था कार्यान्वयन गराउन पशु क्वारेन्टाइन विभागलाई निर्देशन दिएपछि विभागले मातहतका निकायमा रोक लगाउन आदेश गरेको कर्णले बताए ।

क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालयअन्तर्गत सुदूरपश्चिममा ४ वटा चेक पोस्ट छन् । कञ्चनपुरका गड्डाचौकी र बेलौरी, कैलालीको धनगढी तथा दार्चुलामा चेक पोस्टहरू छन् । कैलाली र कञ्चनपुरबाट माछा, खसी र दानाका लागि कच्चा पदार्थ आयात हुने गर्थ्यो ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?