बर्खे बालीको विकल्प हिउँदे धान

धनगढी, ‘डुबान समस्याले बर्खे बालीको आश गर्न सकिन्न । बाढीले सबै सखाप हुने गर्दछ ।’ मुख्य सिजनको धानबाली नपाउँदा भजनी– २ मोहनपुरका कृषक गङ्गा चौधरीले दुखेसो गर्नु भयो ।

कैलालीको भजनी नगरपालिकामा डुबान नभएको कुनै वर्ष छैन । बर्खामा नगरभित्रको अधिकांश ठाउँ जलमग्न हुने गर्दछ । प्रत्येक वर्ष एउटै समस्या दोहोरिने कारणले बर्खे बालीको विकल्प खोज्न थालेका छन्, यो नगरका किसान । जसमा उपयुक्त विकल्प बनेको छ, चैते धान खेती । बर्खे बाली बाढीले नष्ट गर्ने भएकोले भजनी नगरभित्रका किसानको आकर्षण चैते धान खेतीतर्फ बढ्दै गएको छ । विगत केही वर्षयता, उक्त नगरका किसान बर्खे धानको खेती नगरी चैते धान खेतीमात्रै गर्दै आएका छन् ।

‘बर्खे धान लगायो भने मिहिनेत र लगानी दुवै खेर जान्छ’, कृषक चौधरीले बेलीविस्तार गर्नुभयो– ‘त्यसैले चैते धान खेती गर्न थालेका छौँ ।’ तिन वर्षयता नियमित चैते धान खेती गर्दै आउनु भएका छ, चौधरीले । यो वर्ष डेढ बिघा जमिनमा चैते धान लगाएको उहाँले सुनाउनु भयो ।

‘बर्खेभन्दा चैते धान खेतीमा लगानी बढी छ’, चौधरीले अगाडि थप्नुभयो– ‘तर, उत्पादन भने बढी हुन्छ ।’ प्रति बिघामा ४० देखि ६० क्विन्टलसम्म चैते धान उत्पादन हुने गरेको किसानको भनाइ छ ।

भजनी नगरपालिकाको भूभाग जिल्लामै सबैभन्दा होचो रहेको बताइन्छ । जसको कारणले यो नगरको अधिकांश ठाउँमा असारदेखि कात्तिकसम्म नियमित पानी जम्ने गर्छ । कृषियोग्य जमिन तलाउ जस्तै बनेपछि लगाइएको बर्खे धान जोगिने त कल्पनासम्म गर्न सकिन्न । त्यस्तो ठाउँमा किसानले बर्खे धान लगाउन नै छोडिसकेका छन् ।

बर्खे धान खेती गर्न नसकिने भएकाले भोकमरी समस्या टार्न चैते धान खेती गर्नु यो नगरका कृषकको बाध्यता जस्तै भएको छ । ‘चैते धान खेती गरिएन भने भोकले नै मर्ने अवस्था आउन सक्छ’, भजनी नगरपालिका ३ पकडियापुरका कृषक ज्ञानु चौधरीले भन्नुभयो– ‘त्यसैले पनि विकल्पको रुपमा चैते धान खेतीतर्फ ध्यान दिएका हौँ ।’ उहाँका अनुसार पकडियापुरका मात्रै करिब ४६ परिवारको जीवन चैते धान खेतीले धानेको छ । कुनै–कुनै किसानले दुई÷तीन बिघा जमिनमा चैते धान खेती गरेका छन् । आफूले यो वर्ष १६ कट्ठा जमिनमा चैते धान लगाएको सुनाउँदै चौधरीले थप्नुभयो– ‘यो क्षेत्रको अधिकांश गाउँको गुजारा चैते धानले मात्रै चलेको छ ।’

नगरभित्रको कृष्ण नगर, गोरचौरा, पेरहन्नी, पकडियापुर, मोहनपुर, ढुसी लगायतको गाउँका प्रायः सबै किसानको जीविकोपार्जन चैते धान खेतीले धानेको छ । चैते धान खेतीका लागि सिँचाइको राम्रो सुविधा छैन । बर्खा याममा पानी जम्ने कारणले धान खेती गर्न नसक्ने किसानले चैते धान खेती बोरिङको भरमा गर्दै आएका छन् । ‘केही गाउँमामात्रै कुलोको पानीले सिँचाइ हुने सुविधा छ’, कृषक ज्ञानु चौधरी
भन्नुहुन्छ–‘बाँकी ठाउँमा बोरिङको भरले नै चैते धान खेती गर्दै आएका छौँ ।’

किसानलाई चैते धान खेतीमा प्रोत्साहन गर्न स्थानीय सरकारले अनुदानमा बीउ र कृषि उपकरण उपलब्ध गराउने कार्यक्रम पनि छ । नगरको वडा नम्बर ३ र ८ मा चैते धान कार्यक्रम लागू गरेर किसानलाई सहयोग गरिएको छ । कार्यक्रम लागु भएको दुवै वडाका लागि नगरपालिकाले १७÷१७ लाख रुपियाँ बजेट छुट्टयाएको उक्त नगरपालिकाका कृषि शाखा प्रमुख मैयाँकुमारी चौधरीले जानकारी दिनुभयो । ‘उक्त बजेटले नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ र यान्त्रिक उपकरण उपलब्ध गराएको छ’, उहाँले भन्नुभयो ।

भजनी नगरभित्रमात्रै चैते धान खेती गर्ने किसानको तथ्याङ्क भने नगरपालिकाले अहिलेसम्म व्यवस्थित गर्न सकेको छैन । हालसम्म चार गाउँको मात्रै तथ्याङ्क लिएको कृषि शाखा प्रमुख चौधरीले जनाउनुभयो । उहाँका अनुसार चारवटै गाउँमा गरी यो वर्ष ७९ बिघा जमिनमा चैते धान खेती गरिएको छ । ‘अरु थप गाउँको तथ्याङ्क लिइरहेका छौँ’, चौधरीले भन्नुभयो । चैतमा लगाएको चैते धान किसानले असारमा भित्र्याउने गरेका छन् ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?