मार्सी धानको बेर्ना तयार

सिमकोट, केही दिनपछि रोपाइँ सुरु हुने भएपछि गत चैत महिनामा किसानले छरेको मार्सी धानको बेर्ना तयार भएको छ । बेलाबेलामा पानी पर्नु र सिँचाइको समेत व्यवस्था भएका कारण किसानका लागि आवश्यक समयमा उक्त बेर्ना तयार भएको हो ।
मार्सी धानको बेर्ना तयार भयो, अब छुपुछुपु गर्न केही दिन मात्र बाँकी रहेको र धान रोपाइँका लागि अरू सबै तयारी भएको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का किसान धनञ्जय शाहीले बताउनुभयो । यसपटक धानको बेर्ना पनि राम्रो भएका कारण रोपाइँ गर्न सहज हुने उहाँले बताउनुभयो ।

यसपालि उम्रेको बेर्नाबाट सर्केगार्ड गाउँपालिका वडा नम्बर २ का किसान दानबहादुर फडेरा निक्कै सन्तुष्ट देखिनुभएको छ । बेर्ना तयार भएपछि अब केही दिनमा रोपाइँ सुरु गर्ने उहाँले बताउनुभयो । करिब तीन हल खेतमा रोपाइँ गर्न लाग्नुभएका फडेराले तीन ठाउँमा धानको बेर्ना लगाएको र सबै ठाउँमा राम्रो उम्रेको उहाँले बताउनुभयो । किसानले आफूले धानखेती गर्ने जमिनअनुसार बेर्ना लगाउने गरेको उहाँले बताउनुभयो । हुम्ला जिल्लाका खोल्सी, धारापोरी, याङ्गु, डाँडाफया, ग्याग्रु, नल्न, छिप्रा, याङ्चु, राया, कारंग, पिउस, लाली, रिप, उनापानी, मन्डीलगायतका चार दर्जनभन्दा बढी गाउँमा मार्सी धान फल्ने भए पनि सबैभन्दा धेरै चङ्खेली गाउँपालिकाको दार्ममा खेती हुने कृषि ज्ञान केन्द्रका प्राविधिक रुद्रबहादुर शाहीले बताउनुभयो । मार्सी धान हुम्ला जिल्लाको सबैभन्दा अग्लो स्थान खोल्सीमा फल्ने गरेको र हुम्ला जिल्लामा ५८० हेक्टर जग्गामा धान खेती गरेर ४४३ मेट्रिक टन उत्पादन हुने गरेको उहाँले बताउनुभयो । वैशाख अन्तिमदेखि जेठ महिनासम्म लगाएको मार्सी धान हुम्ला जिल्लामा कात्तिक महिनामा पाक्ने गरेको छ ।।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?