विषादी अवशेष परीक्षण केन्द्रलाई तीन करोड विनियोजन

दमौली। गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका र स्याङ्जाको मालुङ्गामा स्थापना भएको दु्रत विषादी अवशेष परीक्षण केन्द्रलाई स्रोत साधन सम्पन्न बनाउन बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेका बजेट भाषणअनुसार ती दुई केन्द्रलाई रु दुई करोड ९९ लाख बजेट विनियोजन भएको छ ।

गत वर्ष स्थापना भएको परीक्षण केन्द्रलाई पशुपंक्षी रोग नियमन गर्ने प्रयोगशालाको रुपमा समेत सञ्चालन गर्ने गरी आगामी आर्थिक वर्ष २०७७/७८ मा बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए ।

तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको नाकामा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगाशाला स्थापना गरेको थियो । आँबुखैरेनीमा स्थापना भएको परीक्षण केन्द्रबाट प्रदेश भित्रिने तरकारीमा विषादी भए/नभएको परीक्षण गर्दछ ।

कार्यालयका निमित्त प्रमुख एवं प्राविधिक सहायक दिनाकर आचार्यले तरकारीको गाडी बढी मात्रामा रातिको समयमा चल्ने भएकाले रातिको समयमा प्रयोगशालामा काम हुने गरेको जानकारी दिए। “प्रदेश भित्रिने तरकारी गाडीलाई रोकेर नमूना लिई प्रयोगशालाबाट परीक्षण गर्ने गरेका छौँ”, उनले भने, “प्राविधिक कर्मचारीको कमी हुँदा एक्लैले भने काम गर्न अप्ठ्यारो हुने गरेको छ ।”

उनका अनुसार प्रयोगशालाबाट २० मिनेटभित्रै रिपोर्ट आउने गरेको छ । “तरकारीमा विषादी नभेटिए २० मिनेटभित्रै रिपोर्ट दिएर तरकारी लैजानका लागि अनुमति दिन्छौँ, विषादीयुक्त तरकारी ढुवानीका लागि अनुमति हुँदैन”, उनले भने ।

परीक्षण केन्द्रमा स्थायीरुपमा जनशक्ति नभए पनि मन्त्रालयले केही कर्मचारी भने खटाएको छ । आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालय अगाडि भाडाको घरमा सञ्चालित प्रयोगशालामा गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारीलगायतका खाद्य पदार्थ परीक्षण गर्ने लक्ष्य लिइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?