बाग्मती प्रदेशमा सलहको जोखिम

हेटौँडा, १५ असार । बाग्मती प्रदेशका विभिन्न जिल्लामा सलह भित्रिएपछि बाग्मती प्रदेश सरकारले सतर्कता अपनाएको छ । त्यस क्रममा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आइतबार बसेको सलहको प्रकोप नियन्त्रणसम्बन्धी बैठकले सलहको प्रकोप रोकथाम र नियन्त्रण गर्न जनचेतना वृद्धि र प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाको अध्यक्षतामा बसेको बैठकले चार तहको समिति गठन गरी सलहबाट खाद्यान्न लगायतका बालीनालीमा हुनसक्ने क्षति रोक्न तिनलाई परिचालन गर्ने निर्णय गरेको हो । सोमबारबाट प्रदेशका जिल्लाहरूमा सलह नियन्त्रणका लागि काम थाल्ने गरी निर्णय भएको जानकारी दिँदै उहाँले प्राविधिक समितिले सलह पुगेको क्षेत्रको खोजी, क्षतिको विवरण सङ्कलन, सलह नियन्त्रण एवं रोकथामका लागि गर्नुपर्ने उपायहरूको सिफारिस गर्ने बताए ।

काभ्रेमा सतर्कता

काभ्रेपलाञ्चोक समाचारदाता मधुसुधन तिमल्सिनाका अनुसार जिल्लाको खानीखोला गाउँपालिकामा सलह कीरा आएपछि जिल्लाका १३ वटै स्थानीय तहलाई सतर्क गराइएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा. जनार्दन खड्काले काभ्रेपलाञ्चोक र सिन्धुपलाञ्चोक जिल्लाका २५ पालिकामा सलह कीराको रोकथाम र नियन्त्रणका लागि प्राविधिक जानकारी र सम्पर्क व्यक्ति बाली संरक्षण अधिकृतसमेत तोकेर पत्र पठाइसकेको जानकारी दिए ।

सिन्धुलीमा सङ्क्रमण बढ्दै

सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार जिल्लाको कमलामाई नगरपालिकाको विभिन्न ठाउँमा भारतबाट प्रवेश गरेको सलह कीरा फट्याङ्ग्राको झुण्ड देखिएको छ । नगरपालिका–२ खोल्माडाँडा, खोपी खर्क, चियाबारी, सीमबारी, लामीस्वारा, मुडेखर्क, खुर्सानीडाँडा, ८ को कर्करे माइस्थान र १० को भँडार, बाघमारा क्षेत्रमा सलह देखिएको नगरपालिकले जनाएको छ ।

चितवनमा पनि सलह कीराको प्रभाव

यसैबीच चितवन समाचारदाता वसन्त पराजुलीका अनुसार चितवनमा पनि सलह कीराको प्रभाव देखिएको छ । ठूलो सङ्ख्यामा आएका सलहले जिल्लाका विभिन्न क्षेत्रको बाली खान लागेको कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?