महोत्तरीका किसान वर्षाले राहत

बर्दिवास, वैशाख । माटो गाल्नेगरी पानी परेपछि महोत्तरी जिल्लाका किसान बर्खेबाली लगाउन व्यस्त छन् । आइतबार बिहानदेखि लगातार तीन दिनसम्म परेको पानीले खेतबारीमा पर्याप्त चिस्यान भएपछि जिल्लाका किसान बर्खे बाली लगाउने तयारीमा लागेका हुन् ।
बर्खे मकै, कोदो, जुनेलोलगायतका बाली लगाउन ढिलो भइरहेका बेला आइतबार र सोमबार माटो गालेर पानी परेपछि जिल्लाको उत्तर क्षेत्रका किसानको व्यस्तता बढेको छ । मकै, कोदो र जुनेलोलगायतको बाली लगाउनुका साथै जिल्लाको बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा बर्खे धानको ब्याड राख्न परेको यस भेगका किसानले बताएका हुन् ।

वैशाख पहिलो साताभित्रै लगाइन पर्ने मकै, कोदो, जुनेलो र धानको ब्याड राख्ने काम चिस्यानको कमीले गर्न सकिएको थिएन”, बर्दिवास–१३ का किसान रामविलास सिंह कुशवाहाले भन्नुभयो, “वैशाख तेस्रो साता लागेपछि बालीनाली लगाउन पर्याप्त चिस्यान हुने पानी परेको छ, त्यसैले हाम्रो व्यस्तता बढेको हो ।

जिल्लामा करीब ७० हजार हेक्टर जग्गा खेतीयोग्य भए पनि स्थायी सिँचाइ सुविधा छ हजार हेक्टरमा मात्र छ । जिल्लाको उत्तरी क्षेत्रमा पछिल्लो वर्षापछि किसान बर्खे बाली लगाउन र मध्य र दक्षिणी क्षेत्रका किसान चर्को घामले खरपट्ट धजा फाटेको जग्गा पानीले गलाएपछि खनजोतमा व्यस्त देखिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हिउँदे धानको खरुवन (कलम) लगाउन पनि ब्याडको तयारीमा किसान लागेका छन् । दक्षिणी क्षेत्रमा भने वर्षेनी डुबानको समस्या हुने भएकाले ढिलो धान रोपार्इं गर्नुपर्ने बाध्यता छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?