अन्यत्र रोपाइँको चटारो, रामपुरका कृषकलाई भने चैतेधान भित्र्याउन भ्याई नभ्याई
सुमन कार्की
पाल्पा: जिल्लाका अधिकांश क्षेत्रका कृषकहरुलाइ वर्षे धान रोपाइँ गर्न भ्याई नभ्याई भएको बेलामा रामपुरका कृषकहरुलाइ भने चैते धान भित्र्याउने चटारो छ ।
खाद्यान्न वाली अन्तर्गत दोस्रो मुख्य वालीका रुपमा रहेको धान वाली हुने माडी, अर्गेली , रामपुर जस्ता फाटहरुमा समेत लगाइने चैते धान खेतीलाइ यति खेर रामपुरका कृषकहरुले मात्र निरन्तरता दिएका छन् ।
कम क्षेत्रफलमा समेत बढी उत्पादन लिन सकिने र वर्षे धानको तुलनामा उपादकत्व क्षमता बढी भएका कारण यसको खेतीमा किसान लागेका छन् । विगतमा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा यसकाे खेती हुने गरे पनि यतिखेर सिचाइँको प्रर्याप्त सुविधा भएको रामपुर क्षेत्रमा मात्र याे धान खेती गरिँदै आएको छ ।
प्रर्याप्त मात्रमा सिचाइ सुविधा नहुनु चैते धान स्याहार्ने, वर्षे धान लगाउने, मौसम र समय एउटै हुँदा प्रर्याप्त मात्रामा कृषि मजदूर नुहुन लगायत कारणले क्रमिक रुपमा चैते धान लगाउने परम्पारा हराउँदै गएको हो ।
खाद्य सुरक्षाको महत्वपूर्ण भूमिका रहेको चैते धान जिल्लाका कृषकहरुले चिउरा बनाउन प्रयोगका लागि रामपुर फाँटमा खेतीलाई निरन्तता दिँदै आएका छन् । चैते धान हराउने अवस्थामा पुगेपछि प्रदेश सरकारले कृषि ज्ञान केन्द्र मार्फत आर्थिक प्राविधिक सहयोग गरेर पकेट क्षेत्रको रुपमा विकास गरिएको छ ।
कृषि ज्ञान क्षेत्रले करिब २ सय रोपनी क्षेत्रफलमा चैते धानको ब्लक नै तयार गरी कृषकहरुका लागि आवश्यक औजार समेत हस्तान्तरण गर्दा कृषकहरुमा थप उर्जा र हौसला बढेको बताउछन् । धान खेतीको लागि यस वर्ष उपयोगी मौसम भएकाले पनि उत्पादन राम्रो नै भएको कृषकहरुको भनाइ छ ।
रामपुर क्षेत्रमा मात्र उन्नत जातको बीउ प्रयोग गरी चैतेधानको परम्परागत खेतीलाई निरन्तता दिइएकाे छ । स्थानीय कृषक सुशीला न्याैपाने चाँडै बाली भित्र्याउन पाइने, बाली भित्राइसकेपछि फेरि वर्षेधान समेत लगाउन पाइने भएकाले ५ रोपनी क्षेत्रफलमा नै चैते धान लगाएको बताउनुहुन्छ । उत्पादन समेत राम्रै भएको कृषक न्यौपानेको भनाइ छ ।
बनावटका दृष्टिकोणबाट मोटो चामल हुने भएकाले बढ्दो आधुनीकरणका कारण यति बेला उत्पादित धानको चामलभन्दा चिउरा बनाउन बढी प्रयोग हुने भएकाले पनि सिचाइको सुविधा भएको क्षेत्रमा चैतेधान खेतीलाई कृषकहरुले निरन्तता दिएका छन् । चैतेधान खानमा खासै मीठो नहुने तर यसबाट चिउरा उत्पादन भने राम्रो हुन्छ ।
यो धान खेती कृषकहरुको परम्परागत खेती मानिन्छ । पहिल्यैदेखि उत्पादित धानले खाद्य सुरक्षा गर्दै आएको र अनिकालबाट हुने समस्या समाधान गर्न सघाउ पुराउने भएकाले चैते धान खेतीलाइ निरन्तरता दिएको स्थानीय कृषक ओम बहादुर रानाकाे भनाइ छ ।
खाद्यान्नको प्रमुख श्रोतका रुपमा धान बाली भए पनि कृषकहरुले पछिल्लो समयमा सिचाइँ सुविधाको राम्रो प्रबन्ध हुन नसक्दा चैते धानलाइ निरन्तरता नदिएको कृषि प्रविधिकहरु स्वीकार गर्दछन् । रामपुर नगरको कृषि शाखा प्रमुख ज्ञानहरि पाण्डेका अनुसार नगरक्षेत्रको सिचाइँ सुविधा पुगेको दुइवटा वडाका कृषकहरुले भने यो धान खेतीलाई निरन्तता दिँदै आएको र उत्पादन समेत राम्रो भएको बताउनुहुन्छ ।
प्रदेश सरकारको कार्यक्रम अन्तर्गत रामपुरलाइ छनोट गरि पकेट क्षेत्रका रुपमा बिकास गर्ने उदेश्यले कृषक समुह मार्फत सहयोग पुर्याएर चैते धानको प्रवर्द्धन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।
धान प्रमुख खाद्यान्न बाली भए पनि पछिल्लो समयमा कृषकहरुले दोब्बर उत्पादन लिन सकिने चैते धान खेतीलाइ व्यावसायीकरणमा ध्यान दिई प्रशस्त सिचाइँ सुविधा पुर्याउन सक्ने हो भने केही हदसम्म भए पनि विदेशबाट भित्रने चामल आयत रोक्न सहयोग पुग्ने देखिन्छ । न्युज 24 मा खबर छ।
