मृतक परिवारलाई प्रदेश सरकारद्वारा राहत

तनहुँ। गण्डकी प्रदेश सरकारले गत आइतबार परेको अविरल वर्षासँगै झरेका पहिरोमा परि मृत्यु भएका परिवारका सदस्यलाई राहत प्रदान गरेको छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलीका आमबहादुर थापालाई राहत रकम हस्तान्तरण गरेका हुन्। एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जनही रु ५० हजारका दरले रु दुई लाख ५० हजार मृतकका आफन्त थापालाई प्रदान गरेका हुन् ।

घरमाथिबाट आएको पहिरोले पुरिँदा ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका ३० वर्षीय भेषबहादुर, निजको श्रीमती २९ वर्षीया नानुमाया, निजको ५ वर्षीया छोरी अमिषा, २२ वर्षीय महादेव र निजको श्रीमती १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको हो । आमबहादुरकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा पहिरोमा परी सख्त घाइते भएकाले अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेकोे छ । राहत रकम हस्तान्तरण गर्दै मन्त्री चुमानले पहिरोमा परी घाइते भएकाकोे सम्पूर्ण खर्च सङ्घीय र गण्डकी प्रदेश सरकारले व्यवस्था गर्ने बताए ।

त्यसैगरी गण्डकी प्रदेश सरकारबाट जिल्लाको व्यास नगरपालिका–९ माझफाँटमा पहिरोमा परी मृत्यु भएका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज, छोरी २१ वर्षीया अञ्जना, सोही ठाउँकी छिमेकी ७० वर्षीया मैतकुमारी घर्तीका परिवारलाई यसअघि नै राहत वितरण गरिसकेको छ ।

पहिराले पुरिएर घाइते व्यास नगरपालिका–९ माझफाँटका ५० वर्षीय केशव थापा र २६ वर्षीया झनुमाया कुँवरको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी मृत्यु भएकाहरुलाई तत्कालको लागि जिल्ला प्रशासन कार्यालयबाट रु एक लाख, प्रदेश सरकारबाट रु ५० हजार र स्थानीय सरकारबाट निर्णयअनुरुप राहत उपलब्ध गराउने योजना रहेको छ ।

त्यसैगरी बाढी पहिरोमा परी पूर्ण र आंशिकरुपमा घरगोठमा क्षति भएकालाई राहत वितरणको लागि जिल्लाका दशवटै पालिकामा विवरण सङ्कलन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?