आँपका रूखमा माकुराजस्तो जालो, रूख सुक्दै

जनकपुधाम, धनुषा र महोत्तरी जिल्लामा आँपका रूख सुक्दै गएको रोग देखिएको छ ।

आँपका रूखमा माकुराजस्तो जालो देखिएपछि रूख सुक्दै जाने क्रम बढ्दै गएको देखिएको छ । किसानका अनुसार शुरुमा माकुराको जालो देखिएपछि क्रमशः रूख नै सुक्ने रोगका कारण धनुषा र महोत्तरी जिल्लाको दक्षिण भेगका आँपका बगैँचा उजाड भएको छ ।

अगुवा किसान रामसोगारथ यादवले जालो लागेका रूखमा औषधि छर्किंदा पनि रूख सुक्ने क्रम नरोकिएको बताउँछन् । आँपमा जालो लगाउने किराले रूखको पात खाइदिने गरेका कारण समस्या भयावह हुँदै गएको किसान सरयुग पासवान स्पष्ट गर्छन् ।

धनुषा र महोत्तरी जिल्लाका हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको आँपका रूखमा यो समस्या भयावह भएको बताइन्छ । तथ्याङ्कअनुसार धनुषामा तीन हजार २३८ हेक्टर र महोत्तरी जिल्लामा एक हजार ७१० हेक्टरमा आँपको खेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साह किसान सजग भएमा यसलाई न्यूनीकरण गर्नसक्ने बताउँछन् । उनका अनुसार जालोका कारण औषधि छर्किदा असर नपरेकाले किसानले आफू अनुकूल साधनले जालोलाई नष्ट गर्नु आवश्यक छ ।रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments