नासपातीबाट जुस र पेरी उत्पादनको तयारी

नास्पाती

दमन राई
खोटाङ :

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नासपातीबाट जुस र पेरी उत्पादनको तयारी थालिएको छ। प्रशस्त मात्रामा उत्पादन भए पनि बजार अभावमा खेर गइरहेका नासपातीलाई सदुपयोग गर्दै आम्दानीको श्रोतकारुपमा बिकास गर्नका लागि स्थानीय जनसेवा कृषि सहकारी संस्थाले नासपातीको जुस तथा पेरी उत्पादनको तयारी गरेको हो। नासपातीबाट जुस र पेरी उत्पादनका लागि हात तथा विद्युतबाट सञ्चालन हुने मेसिन खरिद गरेर नासपानी संकलन सुरु गरिएको जालपाका वडाध्यक्ष बिकास राईले बताए।

सोमबार एकै दिन स्थानीय किसानबाट प्रतिकेजी चार रुपैयाँका दरले एक हजार नासपाती खरिद गरेर ट्याक्टरमा संकलन गरिसकिएको छ। जुस र पेरी उत्पादनका लागि नासपाती खरिद सुरु भएपछि स्थानीय उत्साहित बनेका छन्। जालपामा मात्र वार्षिक १० हजार केजीको हाराहारीमा उत्पादन हुने नासपातीलाई प्रशोधन गर्दै जुस र पेरी उत्पादन गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताए। खेर गइरहेका नासपातीबाट जुस र पेरी उत्पादनका लागि वडा कार्यालयले मेसिन खरिद र उत्पादन तालिम सञ्चालनमा सहयोग गरेको जनाएको छ। ‘नासपातीबाट जाम पनि बन्छ तर अहिले जुस र पेरी मात्र उत्पादन गर्ने तयारी गरिरहेका छौँ,’ वडाध्यक्ष राईले भने, ‘अहिले नासपाती संकलन गरेर रस निकाल्ने काम हुँदैछ। भदौ २० गतेदेखि तालिम दिएपछि औपचारिकरुपमा जुस र पेरी उत्पादन, लेवलिङ, बोटलिङ र बजारीकरणको काम सुरु हुने छ।’

कोरोना महामारीका कारण हाल काठ्माण्डौं लकडाउन भएकाले हाललाई जुस र पेरी ड्रममा भण्डारण गरिने छ। सहज वातावरण बनेपछि आवश्यक सामग्री ल्याएर जुस र पेरीको लेबलिङ र बोटलिङको काम गर्ने तयारी गरिएको जनसेवा कृषि सहकारी संस्थाले जनाएको छ। जालपामा नासपातीबाटझैं सुन्तला, आल्चा, आँप लगायतका मौसमी फलफुलबाट जुस उत्पादन गर्ने लक्ष्य राखिएको वडाध्यक्ष राईले बताए। लटरम्म फल्ने र पाकेपछि झरेर खेर जाने नासपातीबाट जालपामा २०५८÷०५९ सालतिरै पेरी (वाइन) उत्पादनको प्राक्टिस गरिएको थियो।

बजार अभावमा खोटाङका अधिकांश किसानले उत्पादन गरेको नासपाती खेर जाने गरेको छ। उल्लेख्य मात्रामा नासपाती उत्पादन भए पनि किसानले आम्दानी लिन सकेका छैनन्। जापानिज, लोकल लगायतका जातको नासपाती प्रशस्त मात्रामा उत्पादन भए पनि बजार अभावमा कुहिएर बगानमै नष्ट हुने गरेको छ। घरमा उपयोग गरेर र बिक्री भएर नसकिने कतिपय नासपातीको दाना बंगुरलाई चारोकारुपमा खुवाउने गरिएको छ। दिक्तेल, लफ्याङ, बाँझेच्यानडाँडा, रतन्छा, खिदिमा, कुभिन्डे, टेम्मा, पाथेका, हलेसी, लगायतका वडामा उत्पादित नासपातीले मूल्या नपाउँदा खेर जाने गरेको किसान बताउँछन्।

व्यवसायीकरुपमा नभए पनि जिल्लाका अधिकांश ठाउँमा नासपाती खेती हुँदैआएको छ। केही मात्रामा स्थानीय हाटबजारमा बिक्री भए पनि बाँकी रहेपछि खेर जाने नासपाती बंगुरलाई खुवाउने गरिएको छ। नासपातीलाई कतिपय किसानले रक्सी बनाउन प्रयोग गर्ने गरेका छन्। प्रशोधन गरेर नासपातीबाट जुस बनाउन सकिन्छ तर जिल्लामा त्यसको व्यवसायीक अभ्यास हुन नसकेको वडाध्यक्ष राईले बताए। गर्मी याममा शितलता र तिर्खा मेटाउनकालागि नासपाती सेवन रुचाउने गरिन्छ। -नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?