मनास्लुमा स्याउ लटरम्म, बजार पाउन सकेन

शिव उप्रेती
गोरखा : गोरखाको मनास्लु क्षेत्रमा यतिबेला स्याउ लटरम्म पाकेको छ। चुमनुब्री गाउँपालिका ३ न्याक, वडा नं. ४ को प्रोक, नाम्रुङ, क्वाक, छाक र वडा नं. २ को ल्हो, ल्ही, स्यो तथा स्याला तथा वडा नं. ५ बिही, क्य्राक गाउँमा स्याउ पाकेर लटरम्म भएको स्थानीयबासी बताउँछन्।

‘बारीभरि लटरम्मै स्याउ पाकेको छ’, वडा नं. ४ का अध्यक्ष पेमा डुण्डुप लामा भन्छन्, ‘स्थानीय जातको पनि छ। तीन महिनाअघि इटलीबाट ल्याएर रोपेको उन्नत जातको पनि फलेर पाकिसकेको छ।’ तर स्याउले बजार नपाएको उनको गुनासो छ।

गतवर्ष विदेशी पर्यटक, होटल, लज तथा टिहाउसहरुमा खपत हुन्थ्यो तर यसवर्ष कतै पनि बिक्री हुन नसकेको न्याकका रिदम गुरुङले बताए। ‘मनास्लु क्षेत्रको भ्रमणमा आउने पर्यटक, गाइड, भरियाहरुले किन्थे। बोकेर फिलिम, जगतसम्म पनि पुर्‍याइन्थ्यो’, उनले भने, ‘तर यो वर्ष कोरोना महामारीका कारण परिवारले खाएर सक्नु परेको छ।’ ढुवानीमा समस्या भएकाले स्याउ खेर गएको उनले बताए।

खाएर नसकिएका स्याउको रक्सी बनाउने गरिएको बिहीकी टसी लामा बताउँछिन्। ‘खान सकेजति खाइन्छ। नसकेको रक्सी बनाइन्छ’, उनले भनिन्, ‘स्याउलाई बजार लैजान सकेको भए अलिअलि भने पनि पैसाको मुख देख्न पाइन्थ्यो होला।’

गण्डकी प्रदेशलाई स्याउमा आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत प्रदेशको कृषि मन्त्रालयद्वारा गोरखामा इटलीबाट ल्याएर पाँच हजार नौसय ३० वटा विरुवा वितरण गरिएको थियो। चुमनुब्री गाउँपालिका वडा नं. ३ र ४ को आमोस बहुउद्देश्यीय कृषि फर्म, धार्चे ५ को सिङ्ला आधुनिक कृषि फर्म र धार्चे ३ को दिङ्ला कृषि तथा पशुपंछी फर्मले इटलीबाट ल्याइएको गोल्डेन, फुजी र गाला प्रजातिका स्याउ रोपेका कृषि ज्ञानकेन्द्रकी प्रमुख मनिता थापाले बताइन्। अन्नपुर्णपोस्टमा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?