मल आयात प्रकरण : कालोसूचीमा राख्न सिफारिस
काठमाडौं : कृषि सामग्री कम्पनीले मल आयात गर्न नसक्ने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ। कम्पनीले सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्राइभेट लिमिटेडलाई कालोसूचीमा राखेर थप कारबाही अघि बढाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो।
शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज प्रालि र हुमनाथ कोइरालाको होनिको मल्टिपल प्रालिले सम्झौताबमोजिम कार्य समयमा नगरेकाले सार्वजनिक खरिद ऐनबमोजिम कालोसूचीमा राखी कारबाही गर्नुपरेको कृषि मन्त्रालयले जनाएको छ ।
कृषि सामग्री कम्पनी लि.सँग २५–२५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका शैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिसँग गरिएका सबै सम्झौता रद्द गर्ने तथा धरौटी रकम जफत गर्ने निर्णय भदौ २१ गते नै गरिएको थियो ।
कृषि सामग्री कम्पनी लि.ले निकालेको टेन्डर कबोल गरेका यी दुई कम्पनीसँग पटकपटक मौखिक तथा लिखित रूपमा जानकारी लिएकामा जहिले पनि आलटाल कुरा गरेका कारण ती दुई कम्पनीलाई कालोसूचीमा राखिएको कृषि मन्त्रालयका प्रवक्ता तथा कम्पनीका बोर्ड सदस्य डा. हरिबहादुर केसीले बताउनुभयो ।
यी दुई कम्पनीले गत पुस र माघमा टेन्डर हात पारेर भदौ २० भित्र सबै मल आपूर्ति गर्ने सम्झौता भएकामा तोकिएको समयमा मल आपूर्ति गर्न सकेका थिएनन् ।
कृषि सामग्री कम्पनी लि.का अनुसार शैलुङ इन्टरप्राइजेजले ३२०.२५ डलर प्रतिमेट्रिक टन र होनिको कम्पनीले प्रतिमेट्रिक टन ३०९.९० डलरमा युरिया मल ल्याउने गरी ठेक्का पाएका थिए । युनिभर्सल कम्पनीले प्रतिमेट्रिक टन ३४५.९० डलर, भ्यालेन्सी कम्पनीले ३५७.८६ डलर, मल्टी ट्रेड कम्पनीले ३७१ डलर, विल्सनले ३७२.७६ डलरमा युरिया मल आपूर्ति गर्ने प्रस्ताव गरेका थिए तर सबैभन्दा सस्तोमा शैलुङ इन्टरप्राइजेज र र होनिको कम्पनीले प्रस्ताव गरेर टेन्डर हात पारेका थिए ।
