पौरखी किसानको रहरलाग्दो कमाई ! दुई दशकदेखि व्यावसायिक पशुपालन
बेनी । बेनी नगरपालिका–६ अर्थुङ्गेका २७ वर्षीय युवा कमल पौडेल पशुपालनबाट गरेको आम्दानीले सन्तुष्ट छन् । करिब नौ वर्ष अघि रोजगारका लागि विदेश जाने हुटहुटी चलिरहेकै बेला पौडेलले आफ्नै गाउँ ठाउँमा पसिना बगाउने निधो गरे । आफ्नै रोजाइको व्यवसायका रुपमा कुखुरा र गाईभैँसी पालनमा उनी होमिए ।
पौडेलको फार्ममा अहिले १० वटा भैँसी र एउटा गाई छन् । दैनिक उनको फार्मबाट एक सय लिटरको हाराहारीमा दूध उत्पादन हुन्छ । विहान उठेदेखि बेलुकीसम्म उनको समय पनि फार्ममै बित्छ । गाईभैँसीको स्याहार सुसार र बजारसम्म दूध पुर्याउने पौडेलको नियमित दैनिकी हो । दूध उत्पादनसँगै कुखुरा पाल्दै आएका पौडेलले गोठ र कुखुराको खोर व्यवस्थित रुपमा निर्माण गरेका छन् । यो व्यावसायमा रु ५० लाखभन्दा बढी नै लगानी भइसकेको उनी बताउछन् ।
अध्ययनको क्रममा केही समय बेनीमा रोजगार रहेका पौडेलले आफ्नो घर जिल्लाको सदरमुकाम बेनी नजिकै रहेको र बजारको अभाब पनि नहुने देखेपछि व्यावसायिक पशुपालनमा पाइला चाल्नुभएको थियो । ‘‘शुरुवातमा लगानी गर्ने पैसा पनि थिएन, बैँकबाट ऋण नै गरेर गाईभैँसी खरिद गरेँ, पछि दूध बिक्री गर्न थालेपछि यहाँबाटै भएको आम्दानीलाई यसै फार्ममा लगानी गर्दै आएको छु’’– पौडेलले भने । गत वर्ष भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् मोडल फार्मको रुपमा छनौट भएर रु २ लाख ५० हजार बराबरको अनुदानमा थप पूर्वाधार निर्माण गरेका पौडेलले पछिल्लो समय सरकारले समेत पशुपालन क्षेत्रलाई प्राथमिकता दिन थालेकोमा खुशी व्यक्त गर्छन् । ‘‘ पशुपालन सुखको व्यवसाय होइन, यसबाट भएको आम्दानी र खर्चमा भने म सन्तुष्ट नै छु, यसैलाई थप व्यवस्थित गर्दै लैजाने हो’’–पौडेलले भने ।
यसै वडाको एकपाटेका युवा विनोद बानियाँ पनि पशुपालनमै होमिएका छन् । पाँच वर्षअघि दुईवटा भैँसीबाट दूध उत्पादनमा लागेका बानियाँले अहिले सात वटा भैँसी पालेका छन् । ‘‘विदेश जाने भनेर निकै समय लागेँ, लाखौँ पैसा दलालले खायो, त्यसपछि विदेश जाने मोह हरायो, आफ्नै ठाउँमा खालीहात बसेर पनि पुग्ने कुरा रहेन, त्यसपछि यहीँको माटोसँग खेल्ने निधो गरेर भैँसीपालनमा लागेको हुँ’’– बानियाँले भने । किसानको दूधको मूल्य नबढाउँदा भने लगानी र परिश्रम अनुसारको आम्दानी गर्न नसकिएको उनको दुखेसो छ ।
बानियाँसँगै उनका भाई मनोज बानियाँ पनि भैँसी र कुखुरापालनमै सक्रिय छन् । बानियाँ दाजुभाइले पशुपंछी पालनसँगै तरकारी खेतीलाई समेत आम्दानीको स्रोत बनाएका छन् । बेनीमा पौरखी कृषकका यी प्रतिनिधि युवाहरु हुन् । बेनी नगरपालिका–६ नम्बर वडामा दर्जनबढीले गाइभैँसी र कुखुरापालनबाट जिवनस्तर उकासेका छन् । बाँसबोटका जीवनप्रसाद पौडेल र रुद्र पौडेलले तीन वर्षदेखि युनियन कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेका छन् । पौडेल दाजुभाइको फार्ममा ८ भैँसी, १ हजार ५ सय कुखुरा र २३ वटा बाख्रा रहेका छन् । एकपाटेका रामप्रसाद शर्मा र थाकनपोखरीका रमेश रेग्मीले समेत १०/१० भन्दा बढी र गोविन्द पौडेलले छ वटा भैँसी पालेका छन् । कुरीलाखर्कमा सुरेश ढुंगाना भैँसी र कुखुरा तथा कृष्णप्रसाद आचार्य भैँसीपालनमा क्रियाशिल छन् । एकपाटेका अमृत बानियाँ, गणेश शर्मालगायत पनि कुखुरापालनबाटै आयआर्जन गर्न सफल भएका छन् । दुग्ध उत्पादनको लागि गाईभैँसी, मासु र अण्डाको लागि कुखुरा पालन गर्दै आएका अधिकाँश युवा छन् र आफ्नो पेशाबाट सन्तुष्ट रहेको बताउँछन् ।
बेनी बजारमा खपत हुने ७५ प्रतिशत दूध बेनपा–६ बाटै पूर्ति हुने गरेको बेनी नगरस्तरीय एकता दुग्ध उत्पादक तथा गाईभँैसी स्रोत केन्द्र विकास समितिका अध्यक्ष समेत रहेका कृषक जीवनप्रसाद पौडेलले बताए । बेनी नगरक्षेत्रमा मात्रै दुई दर्जनभन्दा बढी कृषकले व्यावसायिक रुपमा दूध उत्पादन गर्ने गरी गाईभैँसी पालन गर्दै आएका छन् । समितिका अनुसार सामान्य अवस्थामा बेनी बजारमा मात्रै दैनिक एक हजार ५०० लिटरको हाराहारीमा दूध खपत हुने गर्छ । अहिले कृषकहरुले बजारमा प्रतिलिटर ९० रुपैयाँमा दुध बिक्री गर्दै आएका छन् । बेनी नगरपालिकासँगै जिल्लाको रघुगंगा, मंगला र मालिका गाउँपालिकामा समेत व्यावसायिक रुपमा गाईभैँसी पालनको लहर शुरु भएको छ ।
दुई दशकदेखि व्यावसायिक पशुपालन
बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गाप्रसाद पौडेल दुई दशकदेखि पशुपालनमा आबद्ध छन् । उनले शुरुदेखि नै व्यावसायिक रुपमा नै पशुपालन थालेका हुन् । शरुमा दैनिक पाँच लिटर दूध सदरमुकाम बेनीमा ल्याएर बिक्री गर्ने गरेका पौडेल अहिले भने जिल्लाकै नमुना भँैसीपालक कृषकको रुपमा परिचित छन् । विसं २०५६ देखि पशुपालन शुरु गरेका पौडेलले स्थापना गरेका बरदान पशुपंछी फार्ममा अहिले १८ वटा दुहुना उन्नत जातका भैँसी रहेका छन् । पौडेल भैँसीपालनबाट पनि रहरलाग्दो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा चिनिन्छन् । दैनिक १५० लिटरको हाराहारीमा दूध बिक्री गर्दै आएका पौडेलले मासिक ४ लाख ५० हजार आम्दानी हुने बताउछन् । ‘‘सबै काम गर्न हामी परिवारले मात्रै सम्भव छैन, तीन जनालाई फार्ममा प्रत्यक्ष रोजगारी पनि दिएका छौँ, भैँसीको दाना र घाँस, तलबलगायतमा आम्दानीको ठूलो हिस्सा खर्च हुन्छ, बचत भएको रकमलाई फार्मकै क्षमता विस्तार र पूर्वाधार निर्माणमा खर्चिने गरेको छु’’– पौडेलले भने । पौडेलले यस फार्ममा अहिलेसम्म करिब ६० लाख लगानी भइसकेको बताउछन् ।
विदेशबाट फर्किएर बाख्रापालन
बेनपा–६ चुत्रेनीका ३० वर्षीय युवा कृष्ण मल्लले व्यावसायिक बाख्रापालनबाट रहरलाग्दो आम्दानी गर्न थालेका छन् । वैदेशिक रोजगारिको सिलसिलामा चार वर्ष इराकमा बसेर फर्किएका मल्लले उन्नत जातको बाख्रापालन शुरु गरेका थिए । ‘‘विदेशबाट फर्कदा अष्ट्रेलिया जाने योजना थियो, यहाँ आएपछि मेरो सोच बदलियो, लाखौँ तिरेर फेरी विदेश पस्नुभन्दा यहीँ नै मेहनत किन नगर्ने भन्ने लागेर यता लागेको हुँ’’–उनले भने । बोयर र क्रस जातका बाख्रा पालनमा लागेका मल्लले एक वर्षको अवधिमा रु १० लाखभन्दा बढीका बाख्रा बिक्री गरिसकेको बताए । मल्लको फार्ममा २५ वटा बोयर र क्रस बाख्रा रहेका छन् । कृष्ण बहुउद्देश्यीय कृषी तथा पशुपालन फार्म सञ्चालन गरेका मल्लले भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत् मोडल मार्फमा छनौट भएपछि साढे दुई लाख अनुदान लिएर खोरको क्षमता विस्तार गरेका छन् । उनको फार्ममा ५० वटा बाख्रा राख्ने क्षमता छ ।
वडाभित्र पशुपालन र कृषितर्फ आकर्षण बढ्यो
बेनी नगरपालिका–६ का बस्तीहरुमा व्यावसायिक पशुपंछी पालन र तरकारी खेतीतर्फ युवाहरुको आकर्षण बढेको छ । बजारीकरणका लागि सदरमुकाम बेनी बजार नजिकै रहेकाले यहाँका युवाहरु यसतर्फ आकर्षित भएका हुन् । वडामा कुखुरा, गाईभैँसी, बाख्रा पालनसँगै तरकारी खेतीतर्फ समेत आकर्षण बढेको र यसको दायरालाई थप फराकिलो बनाउनेतर्फ जोड दिइएको वडा अध्यक्ष कृष्णसिंह बानियाँले बताए । उनका अनुसार यस वडाभित्र दुई दर्जनभन्दा बढी फार्म मोडल फार्मको रुपमा विकास भइसकेका छन् । ‘‘उत्साही युवाहरुले गरेका प्रयास सफल हुँदै गएका छन्, उनीहरुलाई तालिम, अनुदानमा सहजीकरण गर्ने काममा हामीले पुलको काम गरेका छौँ, नगरस्तरबाट उपलब्ध हुने सुविधाहरुमा पनि हातेमालो गरिरहेका छौँ’’–वडा अध्यक्ष बानियाँले भने । उनले वडा कार्यालयले गाउँबस्तीहरुलाई कृषिमा समेत आत्मनिर्भर गराउनको लागि हरेक घरमा टनेल राख्ने अभियानलाई समेत अघि बढाएको बताए ।
पशुपंछी पालनलाई प्रोत्साहन
पशुपंछी पालन गर्ने कृषकहरुलाई पछिल्लो समय व्यवसाय विस्तारमा अनुदान उपलब्ध हुन थालेको छ । स्थानीय सरकारसँगै भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले समेत कृषकहरुलाई अनुदान उपलब्ध गराउन थालेको हो । गत आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयले ठूलो सङ्ख्यामा कृषकलाई अनुदान बाँडेको थियो । कार्यालयले म्याग्दीका ३९ र मुस्ताङका तीन वटा फार्मलाई मोडल फार्मको रुपमा छनौट गरी पूर्वाधार निर्माणमा प्रत्येकलाई रु २ लाख ५० हजारका दरले अनुदान वितरण गरेको जनाएको छ । कार्यालयले गाईभैँसी, कुखुरा, बाख्रासँगै भेडापालन, दुग्ध पसल सुधार, मासु पसल सुधार, नष्ल सुधारका कार्यक्रममासमेत कृषकहरुलाई अनुदान दिँदै आएको छ । रासस
