पोखरीमा हाम फालेर २९ बाँदर मरे

ओखलढुंगा : सिद्धिचरण नगरपालिका–५ स्थित सानीटारमा शुक्रबार र शनिबार गरेर २९ बाँदर पोखरीमा हाम फालेर मरेका छन्। शुक्रबार सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका थिए। स्थानीयले १२ वटा बाँदरको जिवितै उद्धार गरेका थिए। स्थानीय बासिन्दा र वन डिभिजन कार्यालयका कर्मचारीले उद्धार गरेका हुन्।

शनिबार दिउँसो फेरि ७ वटा बाँदर पोखरीमा हाम फालेर मरेका स्थानीय देवकुमार दाहालले बताए। उनले बाँदर दैनिक पसेर मर्न थालेपछि पोखरीको पानी खोलेर रित्तो पारेको जनाए। बाँदरले सधैं अन्नबाली खाएर दुःख दिने क्षेत्र मानिने सानीटारमा ठूलो संख्यामा बाँदरको मृत्यु भएको हो।

सिंचाइका लागि निर्माण गरिएको ६ फिट गहिरो सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले आएर पानी खाने गरेका थिए। बाँदरका बच्चा चकचके हुने भएकाले कुनै एक बच्चा उफ्रिने क्रममा खसेकाले निकाल्न अरु बाँदरसमेत पसेको हुनसक्ने वन डिभिजन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए। उनले भने, ‘पानीको सतहमाथि हुँदा उनीहरुले सहजै पानी खाएर फर्किन्थे। तर हिजो चाहीँ पानीको सतह तल भएकोले पिउन खोज्दा डुबेर मरेको हुनुपर्छ। एउटा कुनै कारण डुबेपछि अरु पनि पालैपालो पोखरीमा पसेर मरेको हुनसक्ने स्थानीयको अनुमान छ।’

बाँदरको सामुहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत गरिएको छ। शनिबार समेत बाँदर मरेपछि वन डिभिजन कार्यालयका अधिकृतसहितको टोली घटनास्थल खटाइएको छ।

त्यही पोखरीमा सधैं पानी खान आउने जाने र पसेपछि निस्कन नसकेको हो भने काठको भर्‍याङ राखेर उक्लिने ओर्लने बाटो बनाइदिने तयारी गरेको डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए। यस्तो घटना विगतमा अन्य जिल्लामा सुने पनि यसबारे बृहत अध्ययन नभएकाले कारण यकिन नभएको उनको भनाइ छ।

केही स्थानीयले भने बाँदरले बाह्रै महिना दु:ख दिने भएकाले कसैले पानी खाने ठाउँ पहिचान गरेर विष हालेको हुन सक्ने आशंका गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?