Q 1. राम्ररी व्यवस्थापन गरिएको खेतीबाट प्रति रोपनी कति सम्म उत्पादन लिन सकिन्छ ?

भण्टाको जात, खेती व्यवस्थापन आदिलाई मध्यनजर गर्दा प्रति रोपनी २५००–३००० के.जी. उत्पादन लिन सकिन्छ ।

Q 2. भण्टालाई साधारणतया कति दिन सम्म भण्डारण गर्न सकिन्छ ?

भण्टालाई साधारणत गर्मीमा टिपेको ३ दिन भित्र र जाडोमा ५ दिन भित्र वेची सक्नु पर्ने हुन्छ। प्लाष्टिकको खुल्ला झोलामा राखेर भण्टाको ताजापनलाई १–२ दिन जोगाउन सकिन्छ भने शीत भण्डारण गर्दा ७–१० डि.से. तापक्रम र ९०–९२ प्रतिशत सापेक्षित आर्द्रतामा ७–१० दिनसम्म ताजा राख्न सकिन्छ ।

Q 3. टाढाको वजारमा विक्री गर्न लैजादा कस्तो सामाग्रीमा प्याकिङ्ग गर्नुपर्दछ ?

भण्टा फलहरु टाढाको वजारमा विक्रि गर्न लैजादा खुकुलो सँग तह मिलाएर डोको, टोकरीमा लैजाने परम्परा रहि आएको छ । यसलाई अझ व्यवस्थीत गर्न प्लाष्टिक क्रेट वा कार्टुनमा प्याकिङ्ग गरेर ढुवानी गर्नु उपयुक्त हुन्छ । फलहरु सकेसम्म घाम सोझै सम्पर्कमा आउन दिनु हुँदैन ।

Q 4. भण्टामा पात सेता कागज देखिन्छन् र वोटै कुरुप देखिन्छ, किन होला ?

यस्तो समस्या थोप्ले खपटे कीराको कारणले हुन्छ ।

Q 5. भण्टाको ग्रेडिङ्ग गर्दा कुन कुन कुराहरुमा विशेष ध्यान पुर्याउनु पर्दछ ?

भण्टा फलको ग्रेडिङ्ग गर्दा मुख्यतः यसका रंग, आकार तथा आकर्षणलाई ध्यान दिनु पर्ने हुन्छ। फलहरु छनौट गर्दा गवारोले प्वाल पारेका, घाउचोट लागेका, छिप्पिएका र फलहरु मन पराउँदैनन् । ग्राहकले विशेषत लामा तथा गोला आकारका चम्किला, वैजनी, राता वा गाढा वैजनी रंगका फलहरु मन पराउँछन् ।

Q 6. भण्टाको फल कुन समयमा र कसरी टिप्दा लामो अवधिसम्म भण्डारण गर्न सकिन्छ ?

भण्टाको फल सकेसम्म वेलुकी पख कैँची वा सिकेचरको सहायताले टिप्नु पर्दछ । भण्टा छिप्पिए पछि ग्राहकले मन पराउँदैन त्यसैले कलिलो, वीउहरु नछिप्पि सकेको अवस्थामा टिप्नु पर्दछ । टिप्दा खेरी चोट पटक नलगाई गवारोले वा अन्य कीराले नोक्सानी पुर्याएका फलहरु हटाई साँझपख टिपी छहारीमा राखेका फलहरु वढी समय टिक्दछन् ।

Q 7. लाही कीराले विरुवाको पातको रस चुस्नुको साथै अन्य रोग पनि सार्दछ भनिन्छ के यो सत्य हो र यसको व्यवस्थापन कसरी गरिन्छ ?

लाही कीराले विरुवाको पात, डाँठ तथा फलको समेत रस चुसी नोक्सानी पुर्याउँदछन् । खानको लागि रस चुस्ने क्रममा एक वोट अर्को वोटमा भाइरस रोग समेत फैलाउँदछन् । यसको व्यवस्थापन हेतु सकेसम्म जैविक प्रयोग गर्नु राम्रो हुन्छ तर नियन्त्रण गर्न गाह्रो भएमा मिथाइल डिमोक्रोन वा डाईमिथोयट १ मि.लि. प्रति लिटर पानीमा मिसाई ७–१० दिनको फरकमा छर्नु पर्दछ ।

Q 8. भण्टाको बोटमा माकुराको जस्तो जालो देखिने र बोट हुर्कन नसक्नुको कारण के होला ? यसबाट छुटकारा पाउन केही उपाय छ कि ?

यस्तो समस्या रातो सुलसुले (रेड स्पाईडर माईट) को कारणले गर्दा हुन्छ । सुलसुलेको वयस्क तथा लाभ्रे दुवैले पातको तल्लो सतहमा वसेर रस चुस्छन् । पातमा मसिना छिर्काहरु देखिन्छन्, पात पहेँलो र खैरो रंग देखिन्छन् र एक किसिमको माकुराको जालो जस्तो देखिन्छ। यसको व्यवस्थापन १–२ मि.लि. प्रति लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा छर्नु पर्दछ ।

Q 9. डाँठ र फलमा लाग्ने गवारोले कसरी नोक्सान गर्दछ ? यसको रोकथामको उपाय के छ ?

भण्टामा लाग्ने डाँठ फलको गवारो नै सवै भन्दा ठूलो शत्रु हो । यस कीराको लाभ्रेले कलिलो डाँठमा प्वाल पारेर भित्र पसी नरम भाग खाई दिन्छन् र हाँगा विस्तारै सुक्दै जान्छ पछि गएर फुल तथा फलमा समेत आक्रमण गरी फल खान अनिवार्य तुल्याउँछन् । यसको रोकथामको सवैभन्दा राम्रो उपाय भनेको यसले आक्रमण गरेको भाग हटाई जलाई दिने, इन्डोसल्फान १–२ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने तथा सुप र धनिया सहित मिश्रीत खेती लगाउनु पर्दछ।

Q 10. भण्टाका विरुवा ठिम्रीने, पहेलिने र ओइलाउने अवस्थामा हेर्दा यसमा गाँठाहरु देखिन्छन् कारण के हो ?

यो रुटनट निमाटोड (जुका) वाट लाग्ने रोग हो । यसलाई जराको गाँठे रोग भनिन्छ । निमाटोड लागि सकेपछि जरामा गाँठा गुँठिहरु देखिन्छ त्यसैले यसलाई जराको गाँठे रोग भनिन्छ । रोग लागेपछि वोट नवढ्ने, पहेँलिने हुन्छ र उखेलेर हेर्दा जरामा गाँठाहरु देखिन्छन्। सयपत्री फूल सँग र मिश्रित वाली लगाउदा तथा नीमको पिना ५०० के.जी. प्रति रोपनी प्रयोग गर्दा यस रोगको आक्रमण वाट वचाउन सकिन्छ ।

Q 11. फोमोप्सिस डढुवा रोगको लक्षण कस्तो हुन्छ ? यसको व्यवस्थापन कसरी गरिन्छ ?

यो पनि ढुसीको कारणले हुने रोग हो । यसको डाँठको वोक्रा कालो हुँदै जाने, पातमा गोलो खैरो थोप्ला भै वीचमा केही फिक्कापन देखिने फलमा गढेका ठूल–ठूला दागहरु भै फल कुहिन्छ। यसको व्यवस्थापन वीउ उपचार तथा ल्वाईटक्स–५०, २ ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नु पर्दछ ।
Q 12. वीरगञ्ज सेतो जातका विशेषताहरु के के छन् ?
यसका वोटहरु अग्ला, ठाडा र काँडा नभएका हुन्छन् । फलहरु लामा, हल्का हरियो सेतो रंगका हुन्छन् । यो जातका भण्टाको सेवनवाट मधुमेह रोेग लागेका मानिसको लागि रोग कम गर्नमा सहायक सिद्ध भएको पाईन्छ भने यसलाई आयुर्वेदिक औषधि तयार गर्नमा पनि प्रयोग गरिन्छ ।

Q 13. भण्टाका पछौटे जातहरु कुन कुन हुन् ?

नेपालमा सिफारीस गरिएका र खेती हुँदै आएका पछौटे जातहरुमा अर्का केशव, वीरगञ्ज सेतो र रुनाको हुन् । यिनीहरुवाट वेर्ना सारेको ७०–८० दिनमा पहिलो टिपाई गर्न सकिन्छ ।

Q 14. भण्टाका मध्य मौसममा तयार हुने जातहरु कुन कुन हुन ?

मध्यम मौससमा तयार हुने सिफारीस जातहरुमा नुर्की, सर्लाही ग्रीन आदि पर्दछन् । यिनीहरु वेर्ना सारेको ६०–७० दिनमा पहिलो वाली लिन तयार हुन्छन् ।
Q 15. भण्टाको वेर्ना कुहिने रोग के कारणले र कस्तो जमीनमा वढी लाग्दछ ? यसको नियन्त्रण कसरी गर्न सकिन्छ ?

माटोमा वस्ने विभिन्न प्रकारका ढुसीको कारणले यो रोग लाग्दछ । यो रोग पहेँलो देखि नर्सरी राखेको, भण्टा खेती गरेको र वढी चिस्यान रहने जमीनमा वढी मात्रामा देखा पर्दछ । यसको व्यवस्थापन २–३ ग्राम क्याप्टान वा थिराम वा सेरेसानले वीउ उपचार गर्ने तथा कपर अक्जिक्लोराइड वा क्याप्टान जस्ता विषादी प्रयोग गरी माटोको उपचार गर्नु पर्दछ ।

Q 16. भण्टाका अगौटे जात कुन कुन हुन् ?

भण्टाको अगौटे जातहरु पुसा पर्पल लङ्ग, पुसा क्रान्ति र अन्ना ८०६ मूख्य हुन् । यी जातहरु वेर्ना सारेको ५०–६० दिनमा पहिलो वाली लिन तयार हुन्छन् ।

Q 17. सर्लाही ग्रीन जात कहाँवाट सिफारिस गरिएको हो र यसको विशेषता के छ ?

यो जात सर्लाहीको नवलपुरवाट सिफारीस भई वीउ विजन समितिवाट पंजीकृत भएको जात हो।यसको वोट छिटो बढ्ने, झ्याङ्गिने, कतैपनि कलेजी रंग नदेखिने हरियो रंगको हुन्छ । वेर्ना सारेको ६०–७० दिनमा पहिलो वाली लिन तयार हुने मध्यम खाले जात हो ।

Q 18. भण्टाको नुर्की भन्ने जात कुन क्षेत्रको लागि सिफारिस जात हो ?

यो तराई र मध्य पहाडी क्षेत्र लागि सिफारिस गरिएको खुल्ला सेचन हुने जात हो । वेर्ना सारेको ६०–६५ दिनमा पहिलो वाली तयार हुने मध्यम समयमा तयार हुने कृषकहरुले रुचाएको जात मध्ये एक जात हो ।

Q 19. नेपालमा खेती गरिएका प्रचलित जातहरु कुन कुन हुन् ?

स्थानीय उन्नत र वर्णशंकरका थुपै्र भण्टाका जातहरु पाइन्छन् तर पञ्जीकृत भएका प्रचलित जातहरु भने नुर्की, पुसा पर्पल लङ्ग, पुसा क्रान्ति, सर्लाही ग्रीन, विरगंज सेतो, एन.एस. ७९७, अर्का केशव, अन्ना ८०६, आदि हुन् ।

Q 20. भण्टा खेती भित्र कस्ता वालीहरु अन्तरवालीको रुपमा लगाउन उपयुक्त हुन्छ ?

मूख्य वालीलाई, हानी नोक्सानी नपुर्याउने गरी अन्तरवालीको रुपमा वाली लगाईन्छ । विशेष गरी वर्णशंकर काउली, बन्दा, रायो, मूला, प्याज, धनिया आदि वाली अन्तरवालीको रुपमा लगाउन सकिन्छ।

Q 21. भण्टा खेतीमा पानी निकास हुने व्यवस्था हुन किन जरुरी छ ?

वर्षातको समयमा पानी जम्ने अवस्था भएमा जराले राम्ररी हावा पाउँदैन, जरा कुहाउने जीवाणुहरु सकृय हुन्छन् र जरा कुहिएर विरुवा मर्दछन् । तसर्थ माटोमा वढी भएको पानीलाई कुलेको वनाई निकास गर्नु पर्ने हुन्छ ।

Q 22. भण्टा खेतीमा सिचाई व्यवस्थापन कसरी गरिन्छ ?

गोडमेल पछि सिचाई गर्नु पर्दछ । सिचाई गर्दा हिउँदमा १०–१५ दिनको फरकमा र गर्मी मौसममा ७–१० दिनको फरकमा गर्नु पर्दछ । विशेषत फूल फूल्ने र फल लाग्ने वेलामा सिचाई गर्नु अति जरुरी हुन्छ ।

Q 23. भण्टा खेती गर्दा वार्षिक कति पटक सम्म गोडमेल गर्न जरुरी हुन्छ ?

भण्टा लगाएको माटो खुकुलो र झारपात रहित हुनु पर्दछ । विरुवा रोपेको पहिलो १ महिना सम्म समय समयमा सरसफाई तथा हल्का गोडमेल गर्नु पर्दछ । वाली अवधिभर कम्तीमा ३ पटक गोडमेल गरी माटो खुकुलो वनाई राख्नु पर्दछ ।

Q 24. भण्टा खेतीमा कुन अवस्थामा छाप्रो दिइन्छ र किन ?

टपड्रेसिङ्ग गरि सकेपछि सुकेका पात पतिङ्गर वा स्थानीय स्तरमा पाइने घाँस परालले छाप्रो/मल्चिङ्ग गरिन्छ । यसले माटोमा चिस्यान वढी समयसम्म रहिरहन्छ भने झार उम्रन दिदैन, जरालाई न्यानो वनाउँदछ, माटो वगेर जान पाउदैन तथा पछि सडेर कम्पोष्ट मल वन्दछ। जसले माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाँउदछ ।

Q 25. भण्टा खेती गर्दा उप्केरा दिन जरुरी हुन्छ किन ?

भण्टाको विरुवाको जरा माथिल्लो सतहमा वढी फैलिने हुनाले माटो वढाउने उप्केरा लगाउने कार्य गर्नु पर्दछ । यसले गर्दा जरालाई सुख्खा हुनबाट वचाउँदछ ।

Q 26. विरुवामा टप डे«सिङ्ग भन्नाले के वुझिन्छ ? भण्टा खेतीमा टप ड्रेसिङ्ग किन महत्व वढी रहन्छ ?

विरुवा सारी सकेपछि विरुवाको वृद्धि राम्रो गराउन नाइट्रोजन युक्त मल लगाईन्छ । जसलाई टप ड्रेसिङ्ग भनिन्छ । टप डे«सिङ्ग गर्नाले फल पुष्ट र आकर्षक हुन्छ ।

Q 27. खेतबारीमा वेर्ना सार्दा कति दूरी कायम गर्न उपयुक्त हुन्छ ?

भण्टाको वेर्ना सार्दा हार देखि हारको दूरी ६०–७५ से.मि. तथा वोट देखि वोटको दूरी ४५ से.मि. कायम राख्नु पर्दछ । यसका वेर्नाहरु ड्याङ्ग वनाएर रोप्नु राम्रो हुन्छ ।

Q 28. वीउ छरेको कति समयमा वेर्ना सार्न तयार हुन्छन् ?

वीउ छरेको ४–५ हप्तामा वेर्ना सार्न लायक हुन्छन् । वेर्ना राम्ररी बढ्नको लागि माटोमा मलको मात्रा, चिस्यान तथा वेर्नाहरु उचित दूरीमा हुनु पर्दछ ।

Q 29. भण्टाको वेर्ना तयार गर्न नर्सरी बेड कसरी तयार गरिन्छ ?

नर्सरीको लागि माटो राम्ररी तयार भएपछि १ मिटर चौडाई ४–५ मिटर लम्वाईको नर्सरी व्याड वनाउनु पर्दछ । दुई ड्याङ्ग वीचमा गोडमेल गर्न, सिचाई तथा पानी निकासको लागि ३० से.मि. कुलेसो वनाउनु पर्दछ ।

Q 30. प्रति रोपनी जमीनमा कति वीउको जोगाड गर्नुपर्दछ ?

प्रति रोपनी जग्गाको लागि २५–३० ग्राम भण्टाको वीउ चाहिन्छ जसवाट करीव २००० वेर्ना तयार हुन्छ ।

Q 31. भण्टा खेतीमा मलखाद कसरी प्रयोग गर्न सकिन्छ ?

राम्ररी कुहिएको गोवर/कम्पोष्ट मल जग्गा तयारीको वेलामा नै मिसाउनु पर्दछ । रासायनिक मलको हकमा नाइट्रोजनको आधा भाग तथा फस्फोरस र पोटासियम जग्गा तयारीको अन्तिम अवस्थामा र आधा भाग नाईट्रोजन दुई भाग गरी आधा भाग वेर्ना सारेको २५–३० दिनपछि र दोश्रो फूल फुल्न थालेपछि टपड्रेस गर्नु पर्दछ । रासायनिक मल दिदा माटोमा चिस्यान हुनु जरुरी हुन्छ ।
Q 32. भण्टाको राम्रो उत्पादन लिन मलखाद कति प्रयोग गर्न सिफारिस गरिएको छ ?
एक रोपनी जग्गाको लागि १०००–१५०० के.जी. राम्ररी कुहेको गोवरमल/कम्पोष्टमल, ५ के.जी. नाईट्रोजन, ३ के.जी. फस्फोरस र २ के.जी. पोटासियमको आवश्यकता पर्दछ ।

Q 33. भण्टाको सेवनले कुन कुन रोगलाई कम गर्न मद्धत पुर्याउँछ ?

यसको सेवनले रगतमा हुने कोलेस्ट्रोलको मात्रा घटाउने तथा दाँत दुख्ने, कलेजो र मधुमेहका रोगीलाई औषधिको काम गर्दछ । सेतो जातको भण्टा मधुमेह रोग हुने मानिसको लागि उपयोगी हुन्छ ।

Q 34. भण्टालाई कुन कुन रुपमा प्रयोग गर्न सकिन्छ ?

भण्टा विशेषत तकारीको रुपमा पकाएर खाईन्छ । काँचो भण्टालाई पोलेर अचार वनाएर पनि प्रयोग गरिन्छ । यसलाई आलु र गोलभेडा सँग मिसाएर वढी मात्रामा प्रयोग गरिन्छ ।

Q 35. यसमा कुन कुन पौष्टिक तत्वहरु समावेश भएका हुन्छन् ?

भण्टामा प्रोटिन, भिटामिन ए, वी, सी, तथा खनिज पदार्थमा पोटासियम, क्याल्सीयमले वढी तौल हुने मानिसको लागि वढी फाइदाजनक हुन्छ ।

Q 36. भण्टा खेती कस्तो माटोमा वढी सप्रन्छ ?

यसको खेती प्राङ्गारीक पदार्थ प्रशस्त भएको हल्का दोमट वा वलौटे दोमट माटो उपयुक्त मानिन्छ।पानी जम्ने, सीम खालको जग्गामा उत्पादन राम्रो हुँदैन किनकी ओइलाउने र जरा कुहिने रोगको प्रकोप वढी हुन्छ ।

Q 37. भण्टा खेतीका लागि कस्तो हावापानी उपयुक्त हुन्छ ?

भण्टा न्यानो गर्मी मौसमको वाली हो तर नेपालको भौगोलिक विविधताले गर्दा तराईको लागि हिउँदेवाली, वेसी र खोच क्षेत्रको लागि वसन्ते तथा मध्य पहाडको लागि वर्षे वालीको रुपमा लिइन्छ । तापक्रमको हिसावले २२–३२ डि.से. सवभन्दा राम्रो मानिन्छ ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments