किसानको हरिबिजोग हेर्नुहोस्

डेरीले दूध नलिँदा किसान मर्कामा, सयौँ लिटर दूध सडकमा पोखेर विरोध

दूध बिक्न छाडेपछि झापा शरणामतीका सयौँ किसानले दूध सडकमा पोखेर विरोध जनाएका छन् । शनिबार नेपाल बहुद्देश्यीय सहकारी संस्थाको दूध संकलन तथा चिस्यान केन्द्रको अगाडि सडकमा सयौँ लिटर दूध पोखेर किसानले विरोध जनाएका हुन् । लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका किसान दूध बिक्न छाडेपछि निराश बनेका छन् ।

नेपाल बहुद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित डेरी उद्योगले किसानले उत्पादन गरेको दूध खरिद गर्न छाडेको हो । दूध उत्पादन गर्न भन्दै गाई–भैँसी खरिदका लागि सहकारीले शरणामतीका किसानलाई ऋणसमेत उपलब्ध गराएको थियो । तर, अहिले सोही सहकारीद्वारा सञ्चालित डेरीले दूध खरिद गर्न छाडेपछि किसानले दूध सडकमा पोखेर विरोध जनाएका हुन् ।

किसानलाई लगानी डुब्ने चिन्ता
‘सहकारीले ऋण दिएर गाई किन्न भन्यो, गोठ बनाउन लगायो, घाँसको बिउ किन्न लगायो, हामीले एक–एक बिघा जमिनमा घाँस रो-यौँ,’ स्थानीय किसान ओमप्रकाश अधिकारीले भने, ‘अहिले सहकारीले दूध लिन छाड्यो, हामी ठूलो समस्यामा प-यौँ ।’ अधिकारीले सातवटा गाई पालेका छन् । दैनिक २० लिटर दूध उत्पादन हुन्छ । तर, केही दिनयता दूध बिक्न छाडेपछि उनी चिन्तित छन् ।

‘घरमा दूधै–दूध छ, त्यो के गर्नु ? काहीँ बिक्री हुँदैन,’ अधिकारीले भने, ‘गाईबस्तु पाल्नुपर्छ, दूध उत्पादन गरेर बेच्नुपर्छ, हामी किन्छौँ भन्दै अरू ठाउँका भिडियो ल्याएर देखाएर एनएमसीले हौस्यायोे, अहिले आएर दूध किन्नै छाड्यो, खेती गर्ने वेला भो, दूध बिक्दैन, पैसा छैन ।’

बहुद्देश्यीय सहकारीले किसानलाई गतिलै सपना बाँडेर गाई पाल्न आग्रह गरेको थियो । ‘केही वर्षमै टाई लगाएर हिँड्ने बनाउँछौँ भन्नेहरूले अहिले दूध नै किन्न छाडे,’ अधिकारीले गुनासो गरे । यहाँका अधिकांश किसानले सोही सहकारीबाट ऋण लिएर घरमा गाई पालेका छन् । १४ जना किसानले त गाई फारम नै सञ्चालन गर्दै आएका छन् ।

उत्पादन भएजति सबै दूध खरिद गर्ने बाचा गरेको एनएमसी डेरी उद्योगले पछिल्ला केही दिनमा २५ प्रतिशत कटाएर दूध खरिद गर्न थालेको अर्का किसान मोहन भट्टराईले बताए । दुई महिनादेखि डेरीले कहिले दूध खरिद गर्ने र कहिले बन्द गर्ने गर्दै आएको छ । भट्टराईले ‘भट्टराई गाई फारम’ दर्ता गरी १५ वटा गाई पालेका छन् ।

‘दूध बेचेर किसानले महिनाको ४० हजार रुपैयाँसम्म आम्दानी गर्थे, अहिले त डेरीले दुई दिन दूध किन्ने र पाँच दिन नकिन्ने गर्न थाल्यो,’ भट्टराईले भने, ’अहिले दैनिक ४० लिटर दूध खेर जाने अवस्था आयो ।’ दूध बिक्री हुँदा भट्टराईले ७०/८० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका थिए ।

दूध खपत नहुँदा समस्या
एनएमसीले किसानबाट दूध खरिद गर्न थालेको दुई वर्ष भयो । तर, अहिले आएर दूध खरिदमा आनाकानी गरेपछि आफूहरूलाई घाटा लागेको किसान प्रकाश थापाले बताए । एनएमसीका शरणामती कार्यालय संयोजक धनपति रिजालले जेठ–असारमा दूधको उत्पादन बढी, बजारमा खपत कम भएकाले समस्या आएको बताए ।

‘यो समय चाडपर्व, विवाह, व्रतबन्ध कम हुने समय हो,’ उनले भने, ‘दूध खपत नहुँदा किसानले भनेजति दूध खरिद गर्न सकेका छैनौँ । विद्युत् आपूर्ति नियमित नहुँदा पनि दूध संकलनमा समस्या भएको छ ।’

जेठमा आठ दिन दूध बिकेन
दूध बिक्री नहुँदा बैंकको किस्ता तिर्नै गाह्रो हुन थालेको किसानले बताए । डेरीले गएको जेठ १२ देखि १६ गतेसम्म र २१ देखि २५ गतेसम्म दूध खरिद गरेको थिएन । अहिले आएर फेरि १ असारदेखि ३ असारसम्म डेरीले दूध खरिद नगर्ने भएपछि किसान निराश भएका छन् । दूध नबिक्दा गाईको मूल्य पनि घटेको शरणामतीकी लीलादेवी बानियाँले बताइन् ।

दुई लाख रुपैयाँ ऋण लिएर चारवटा गाई किनेकी अधिकारीले दूध बिक्री हुन छाडेपछि दुईवटा गाई बेचेको बताइन् । ‘गाईको मूल्य पनि राम्रो आएन, घाटा खाएर बेच्नुप¥यो,’ अधिकारीले भनिन् ।

नयापत्रिका बाट

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments