पाउडर दूधको आयात बन्द गर्ने तयारी

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले पाउडर दूधको आयात बन्द गर्ने बताएका छन् । उद्योगीले सस्तोमा पाउडर दूध किनेर किसानको कच्चा दूध नकिन्ने प्रवृत्ति बढाएको पाइएपछि केही समयका लागि पाउडर दूध आयात बन्द गर्न लागेको उनले बताए ।

सोमबार मन्त्रालयमा उद्योगी, किसान र नियमनकारी निकायलाई राखेर मन्त्री खनालले पाउडर दूध किन्ने प्रवृत्ति बढ्दा किसानको दूध बिक्री हुन नसकेको बताए ।

डेरीले दूध किन्न छाडेपछि किसानले सडकमा दूध पोखेर विरोध जनाइरहेका छन् । मन्त्री खनालले स्वदेशमै पाउडर दूध उत्पादनका लागि उद्योगलाई सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।

‘पाउडर दूध केही समयलाई आयात बन्द हुन्छ,’ उनले बैठकमा भने, ‘स्वदेशमै पाउडर उत्पादन गर्ने कारखानालाई सहुलियत दिइन्छ । म्याद गुज्रेर सिलबन्दीमा परेको पाउडरलाई माया मारौँ ।’

पाउडर दूध उत्पादन गर्ने चितवन मिल्कलाई पुनः सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । त्यस्तै सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलाई पनि पाउडर दूध उत्पादनको क्षमता विस्तार गर्न मन्त्री खनालले निर्देशन दिए ।

अहिले भारतीय बजारमा पाउडर दूधको मूल्य धेरै घटेका कारण उद्योगीले किसानबाट कच्चा दूध नकिनेर पाउडर आयात बढाएका छन् । केही समयअघिसम्म भारतमा प्रतिकिलो ४ सय ५० देखि ५ सय रुपैयाँसम्म पुगेको पाउडर दूधको मूल्य अहिले ३ सय रुपैयाँ प्रतिकिलोमा झरेको छ ।

अवैद्य माध्यममा ल्याउन चाहनेले योभन्दा सस्तो मूल्यमा पनि पाइरहेका छन् । सामान्यतया एक किलो पाउडरबाट १२ लिटर दूध बन्छ । अर्थात् एक लिटर दूध बनाउन २५ रुपैयाँ लागत पर्न आउँछ ।

अहिले किसानलाई कच्चा दूधको न्यूनतम भुक्तानी मूल्य ४९ रुपैयाँ प्रतिलिटरभन्दा बढी निर्धारण गरिएको छ । सोहीकारण भारतबाट सस्तोमा पाउडर ल्याउने डेरीले किसानको दूध नियमित रूपमा उठाएका छैनन् ।

बैठकमा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष नारायणप्रसाद देवकोटाले विदेशबाट पाउडर आयात बढेका कारण किसानको दूध उठ्न नसकेको गुनासो गरेका थिए । ‘अहिले विदेशबाट धेरै सस्तोमा पाउडरको आयात भएको छ त्यसलाई रोक्नै पर्छ,’ उनले भने ।

त्यस्तै, दुग्ध विकास संस्थान (डिडिसी)का निमित्त महाप्रबन्धक ईश्वरी न्यौपानेले बिहान–बेलुका दूध संकलन हुन छाडेको बताएका थिए ।

‘धेरै सहकारीले बिहान र बेलुका दुईपटक दूध संकलन गर्दैनन् । दुईपटक दूध संकलन गरे यो समस्या रहँदैन,’ उनले भने ।

दूधमा भेटिएको सोडाले असर गर्दैन

छलफलमा दुग्ध उद्योगीले बिक्री घटेको गुनासो गरेका थिए । मन्त्री खनालले केही दिनअघि २ उद्योगमा अनुगमन गरी म्याद गुज्रिएका पाउडर दूधमा सिलबन्दी गरेपछि दूधको बिक्री घटेको उनीहरुको भनाइ थियो ।

लगत्तै उपत्यकाका सबै उद्योगबाट ४२ ब्रान्डका दूधको नमुना संकलन गरेका थिए । त्यसमध्ये ४० दूधमा सोडा पाइएको थियो । चिल्लो पदार्थ र ठोस पदार्थको मात्रा पनि मापदण्डभन्दा कम पाइएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णका अनुसार दूधमा खाने सोडा भेटिएको हो । त्यस्तो सोडा हालेको दूधको उपभोगले मानव स्वास्थ्यमा असर पर्दैैन ।

‘४२ नमुना परीक्षण गर्दा ४० मा सोडा हालेको भेटिएको छ, त्यो खाने सोडा हो,’ उनले भने, ‘त्यसैले यस्तो सोडा हालेको दूध उपभोग गर्दा स्वास्थ्यलाई हानि गर्दैन । तर, दूधमा सोडा हाल्न नपाइने मापदण्ड छ ।’

डिडिसीका निमित्त महाप्रबन्धक ईश्वरी न्यौपानेले मन्त्री खनालको अनगमनपछि दैनिक १० हजार लिटर दूध कम बिक्री भइरहेको जानकारी दिए । डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले दूधको बिक्री घटेर उद्योगमा समस्या परेको बताए ।

उनले गुणस्तर कायम राख्न स्रोतदेखि नै सुधार आवश्यक रहेको बताए । मन्त्री खनालले जनताको स्वास्थ्यमा खेलबाड गर्न कसैलाई छुट नभएको बताए ।
नया पत्रिका बाट

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments