सरकारले तोक्यो धानको मूल्य

काठमाडौँ:
सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको न्यूनतम मूल्य २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यमको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा निर्धारण गरेको हो ।

कृषि मन्त्रालयका सहसचिव लेखानाथ आचार्यको संयोजकत्वमा गठित कमिटीले सुझाएबमोजिम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो मूल्य सिफारिस गरेको थियो ।

त्यसपश्चात् आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, दुवै मन्त्रालयका सचिवहरूलगायत अधिकारीहरूबीच भएको छलफलमा मूल्य मन्त्रिपरिषद्मा सिफारिस गर्ने सहमति भएको थियो । बुधबारको मन्त्रिपरिषद्ले भने मूल्य नै तोक्ने निर्णय गरेको सहसचिव आचार्यले बताए ।

‘कमिटीले सिफारिस गरेको मूल्य मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ,’ उनले भने, ‘सरकारले धानको बिक्री र मूल्यलाई सुनिश्चितता गर्न मूल्य निर्धारण गरेको हो ।’ समयमै समर्थन मूल्य तोक्दा किसानलाई राहत हुने र धानको उचित मूल्य पाउने जानकारहरू बताउँछन् ।विगतमा सरकारले मूल्य तोके पनि पूर्ण रूपमा कार्यान्वयनमा नआउँदा किसानले राहत पाएका थिएनन् । कृषि सचिव युवकध्वज जीसीले चालु आर्थिक वर्षमा किसानको धान खरिद नै गर्ने योजना रहेको बताए ।

‘विगतमा धानको मूल्य सिफारिस भए पनि कार्यान्वयन भएको थिएन,’ उनले भने, ‘चालु आर्थिक वर्षमा केही प्रतिशत किन्ने नै योजना बनाएका छौं ।’ कृषि मन्त्रालयले चैते धानका लागि पुन: मूल्य सिफारिस गर्ने जनाएको छ । ‘चैते धानको पनि मूल्यांकन गरिरहेका छौं,’ सचिव जीसीले भने, ‘त्यसको पनि समर्थन मूल्य दिन्छौं ।’
कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments