समयमै रासायनिक मल उपलब्ध गराउन भारत सहमत

निर्धारित समयमै नेपाललाई रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ । नेपाल–भारत संयुक्त कार्यदलको शुक्रबार काठमाडौंमा सम्पन्न सातौं बैठकमा यस्तो सहमति भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको मागअनुसार नै मल दिन भारत सहमत भएको छ । नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा.योगेन्द्रकुमार कार्की र भारतीय पक्षबाट कृषि तथा किसान कल्याण मन्त्रालयका सहसचिव निराजा अदिदले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

भारतबाट आयात हुने रासायनिक मल समयमै उपलब्धता र ढुवानीसम्बन्धी समस्या समाधानका लागि बिशाखापट्टनम वन्दरगाहको प्रयोग र ढुवानीका लागि रेलवे ¥याक उपलब्धता गराउन पनि भारत तयार भएको छ । हाल रक्सौल नाकावाहेक जोगवनी र नेपालगन्ज नाकाबाट समेत मल ढुवानीका लागि नेपालले प्रस्ताव गरेको छ । यस्तै सुनौली, जोगवनी र रुपैडिया नाकाबाट मल आयातको व्यवस्था, मल र प्याकेजिङका सामग्रीका विषयमा लाग्ने कर छुट दिने विषयमा पनि सहमति भएको छ ।

द्विपक्षीय बैठकले खाद्य परीक्षण प्रयोगशाला प्रमाणपत्रको आपसी मान्यताका विषय अघि बढाउने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता तेजप्रसाद सुवेदीले खाद्य वस्तुको निरीक्षण, परीक्षण र प्रमाणीकरण प्रणालीमा संयुक्त सम्झौतासम्बन्धी तयार पारिएको दस्तावेज भारतीय पक्षले सुझावसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पठाइसकेको जानकारी दिए ।

यसरी खाद्य विभागले प्राप्त गरेको उक्त दस्तावेजमा सरकारको राय सुझाव समावेश गरी अन्तिम रुप दिन पुनःभारतीय पक्षलाई उपलब्ध गराइएको छ । भारतीय पक्षले उक्त दस्तावेजमा पुनः आफ्नो राय दिएर केही समयपछि नेपाललाई उपलब्ध गराउने तयारी भएको छ । भारतले उपलब्ध गराउने दस्तावेज १५ दिनभित्र अन्तिम रुप दिएर द्विपक्षीय सम्झौताप्रक्रिया अघि बढाउने सहमति भएको छ ।

बैठकले पशुपन्छी क्षेत्रको विकासका लागि पाइलट प्रोजेक्ट सञ्चालन गर्ने सहमति जनाएको छ । संघीय प्रणालीमा प्रवेश गरेको नेपालको कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित कार्यालयको सुदृढीकरण तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि नेपालले विस्तृत कार्ययोजना भारतीय पक्षलाई उपलब्ध गराउनेछ ।

सहमति भएका विषय

उच्च शिक्षामा सहकार्य
कृषि अनुसन्धान तथा विकास
प्राँगारिक कृषि प्रवद्र्धन
रासायनिक मलको आयात र ढुवानी
परीक्षण प्रयोगशालाको आपसी मान्यता
क्वारेन्टाइन थप्ने र कृषि वस्तु समावेश गर्ने
पशुपन्छी क्षेत्रमा पाइलट प्रोजेक्ट

संयुक्त कार्यदलले कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि उच्च शिक्षामा सहकार्य गर्ने विषयमा पनि सहमति जनाएको छ । यसअनुसार नेपालले कृषिमा उच्च स्तरको शिक्षा (स्नाकोत्तर र विद्यावारिधी) का लागि वैज्ञानिक र विद्वान विनिमय कार्यक्रम प्रस्ताव गरेको थियो । भारतले उक्त कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको वार्तालाई निरन्तरता दिँदै नेपालले पहिचान गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय कृषि विज्ञान अनुसन्धान प्रतिष्ठानलाई मान्यताप्राप्त विश्व विद्यालय बनाउने विषयमा भारतका तर्फबाट विस्तृत परियोजना तयारीका लागि अवधि तोकिएको छ । यसअघि यो कार्यदलको छैठौं बैठक नयाँ दिल्लीमा भएको थियो ।

अन्नपुर्णपोस्ट

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments