टमाटर बिक्री नभएपछि खोलामा फाले किसानले

धनकुटा नगरपालिका–९ बेलहाराका कृषक चन्द्रबहादुर थिङले १४ रोपनी जग्गा भाडामा लिएर टमाटरखेती गरे । टमाटर पाक्दासम्म उनको ७० हजार खर्च भयो । तर, समयमा नै नबिक्दा टमाटर कुहिन थाल्यो । उनले चार क्विन्टल टमाटर खोलामा फ्याँके ।

टमाटर बिक्री नभएपछि धनकुटा–९ बेलहाराका किसानले टमाटर खोलामा फ्यालेका हुन् । टमाटरकृषक थिङले भने, ‘सधैँ यो सिजनमा प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्ममा टमाटर बिक्री हुन्थ्यो । तर, अहिले बिचौलियाका कारण प्रतिकेजी दुई रुपैयाँमा पनि व्यापारीले टमाटर किन्न मान्दैनन् । त्यसैले बाध्य भएर खोलामा फाल्नुप-यो ।’

उनले जग्गाको मात्र वार्षिक भाडा १२ हजार तिर्ने गरेको बताए । उनले टमाटरमा आफूले लगानी गरेको झन्डै एक लाख खेर गएको बताए ।अर्का टमाटरकृषक रामप्रसाद बास्तोलाको पनि १५ रोपनी जग्गामा गरेको खेती नास भएको छ । बारीभरि रातै भएर टमाटर पाके पनि नबिक्दा खेर गएको उनले बताए ।

धनकुटा अहिले टमाटर उत्पादनको राजधानीका रूपमा चिनिन्छ । यहाँबाट पूर्वको धरान, विराटनगर, झापाको बिर्तामोड, दमक तथा भारतका बजारसम्म टमाटर पुग्छ । फाइदा हुन थालेपछि पछिल्लो समय कृषकले मकैखेती मासेर टमाटरखेती सुरु गरेका थिए । तर, यो वर्ष अचानक बिचौलियाले मूल्य नियन्त्रण गरी सस्तोमा लैजान थालेपछि कृषक घाटामा परेका हुन् । मूल्य घटाइएपछि यो वर्ष टमाटर बारीमा नै कुहिएर गएको धनकुटा नपा–९ बेलहाराका कृषक लेकबहादुर खत्रीले बताए ।

धनकुटा नगरपालिका–९ बेलहारामा मात्र करिब आठ सय ५० घरपरिवारले टमाटरखेती गरेका छन् । उनीहरूले वार्षिक रूपमा कम्तीमा ३० हजार क्विटल टमाटर उत्पादन गर्ने गरेको जालपादेवी कृषि सहकारी संस्था धनकुटा नपा–९ बेलहाराका व्यवस्थापक टंक रोइलाले बताए । अहिले सबै कृषकको लगानी डुबेको उनको भनाइ छ ।

टमाटरमा हालिने विषादीका कारण पनि समस्या भएको कृषक रामप्रसाद बास्तोलाले बताए । उनले भने, ‘टमाटरले उचित मूल्य नपाउनु पहिलो कारण त बिचौलिया नै हो, तर विषादीको मात्रा बढ्नु, उत्पादनमा वृद्धि, छिमेकी देश भारतमा निर्यात नहुनुलगायतका कारण पनि मूूल्य घटेको हो ।’

नयापत्रिका

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments