चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय पोल्ट्री विज्ञहरुको सम्मेलन हुने

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय पोल्ट्री विज्ञहरुको सम्मेलन हुने भएको छ ।आगामी कात्तिक ११ गतेदेखि १३ गतेसम्म हुने सम्मेलनमा विभिन्न १० देशका पोल्ट्री सम्बन्धी विज्ञहरूको सहभागिता रहने छ ।

सम्मेलन कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा हुनेछ । विश्वविद्यालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रियस्तरको पोल्ट्री सम्मेलनमा नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बंगलादेश र इजिप्ट लगायत १० देशका ५० भन्दा बढी वैज्ञानिकहरुको सहभागिता रहने जानकारी दिएको छ ।

सम्मेलनमा नेपालका पोल्ट्री उद्योगहरु, व्यवसायीक किसानहरुसहित यो क्षेत्रसँग सम्वन्धित विभिन्न संघ-संस्थाहरुको सहभागीता रहनेछ ।

‘खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलनमा कुखुरा उत्पादन र व्यवस्थापन, अध्ययन, अनुसन्धान, विकास सम्बन्धी वैज्ञानिक सम्मेलन मार्फत भविष्यमा कुखुरापालन जस्तो महत्वपूर्ण क्षेत्रमा विविध प्रविधियुक्त आधुनिक खोजमुलक जानकारीको सम्प्रेषण हुनेछ ।

सम्मेलनमा कुखुरा उत्पादन सम्बन्धी नीतिगत र सामाजिक-आर्थिक अवस्था, कुखुराको पोषण व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, कुखुराको अनुवांशिकी, प्रजनन् व्यवस्थापन तथा जैविक प्रविधि र एकीकृत तथा ग्रामीण कुखुरापालन जस्ता विधाहरुमा वैज्ञानिक र अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिने कार्यक्रम सम्मेलन आयोजक समितिको अध्यक्ष प्रा. डा. शारदा थपलियाले जानकारी दिइन् ।

सम्मेलनमा भाग लिन भारतीय पोल्ट्री साइन्स एशोसिएसनका उपाध्यक्ष प्रा.डा.देवेन सापकोटा, जापनिज पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष डा.नाओकी गोतो, पोल्ट्री अनुसन्धान फाउन्डेसन, अष्ट्रेलियाका निर्देशक पिटर गु्रभ्स, भारतीय कृषि अनुसन्धान परिषद/केन्दि्रय कुखुरा अनुसन्धान संस्थानका निर्देशक एस.सी. गिरी लगायत विदेशी वैज्ञानिकहरूको सहभागिता रहनेछ ।

सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रहरु आउने क्रम जारी रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर पशु प्रजनन् तथा जैविक प्रविधि विभागका प्रमुख उपप्राध्यापक डा. निराजन भट्टराईले जानकारी दिए ।

सम्मेलनमा विभिन्न देशमा पोल्टि्र सम्वन्धी भैरहेका अनुसन्धान, ज्ञानको आदानप्रदान र हाल देखिएका समस्याका विषय वृहत छलफल हुने पशु सेवा विभागका महानिर्देशक डा.विमलकुमार निर्मलले बताए ।

अनलाइनखबर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments