सिंगो गाँउनै नाङ्ग्लो बुन्ने पेसामा आबद्ध

ओखलढुंगा:
ओखलढुंगाको सदरमुकाम नजिकै रहेको एउटा सिंगो गाँउनै नाङ्ग्लो पेसामा आबद्ध छ । सिद्धिचरण नगरपालिका ५ बर्णलुस्थित डाँडाखर्कका ८५ घर परिवारको बसोबार रहेको सिंगो गाँउनै बाँसबाट बनिने नाङ्ग्लो बुन्ने पेसामा आबद्ध भएका हुन् ।

पातलो बसोबास रहेको सिंगो गाँउमा एक दुई घर शेर्पा तामाङ, क्षेत्री लगाएतको बसोबास रहेको भएपनि बाँकी सबै राईबस्ती छ । बिषेशगरी खेतीकिसानी तथा ज्यामी काम गरेर गुजारा चलाउँदै आएका उक्त गाँउका सर्वसाधारणले फुर्सदको समयलाई सदुपयोग गर्दै नाङ्ग्लो बुन्ने गरेका छन् ।

गाँउघरमा नाङ्ग्लोका लागि बास नपाउने भएकाले जिल्लाको रुम्जाटर,बर्णलु लगायतका स्थानबाट खदिर गरेर ल्याउने गरेको स्थानीय जित बहादुर राईले बताए । एउटाको एक सय रुपैयाँ तिरेर खरिद गरिएको बाँसबाट कम्तिमा ५ वटा सम्म नाङ्ग्लो बनाउन सकिने उनको भनाई छ । अहिले नाङ्ग्लो प्रतिगोटा ३ सय रुपौया सम्ममा बिक्री हुने गरेको छ । बाँसको चोया काँढेर त्यसैबाट नाङ्ग्लो बनाउने भएकाले काम गर्न समेत सजिलो रहेको स्थानियको भनाई छ ।

सोही गाँउका अर्काे स्थानीय आईमन राईका अनुसार बाँसबाट बनिने नाङ्ग्लोको माग बाजारमा उच्च छ । पछिल्लो समय स्थानीय बजारमा प्लास्टिकयुक्त नाङ्ग्लो आएको भएपनि टिकाउको हिसाबले बाँसमार्फत बनेका सामाग्री ग्राहकको रोजाईमा पर्ने गरेको छ । ‘अहिले यहाँका मानिसहरुले बुनेका नाङ्ग्लो हारालुछ छ , झन् ठेकेदारले त गाँउमै आएर लाग्छ’ राईले भने– ‘गर्न सके त पैसा पनि राम्रै आउँछ ।’

अहिले उक्त गाँउका सबै घरमा बनेका बाँसका नाङ्ग्लाहरु ठेकेदारले संकलन गरी लैजाने गरेको छ । कहिलेकाहीँ छिटफुट रुपमा बचेका नाङ्ग्लोहरु स्थानीय बजारमा लगेर बेच्ने गरेकोे राईको भनाई छ । फाईदाका हिसाबले नाङ्ग्लो स्थानीय बजारमा भन्दा ठेकेदारलाई दिएकोमा फाईदा हुने उनीहरुको बुझाई छ ।

परापूर्वकाल देखिनै उक्त गाँउका राईहरुले उत्पादन गर्दै आएका नाङ्ग्लोहरु पछिल्लो समय ठेकेदारले घरघरमै आएर उठाउने गरेकाले गाँउमा पाउनै मुस्किल परेको स्थानीय शिक्षक रबिन राजभन्डारीले बताए । ‘अहिले त यहाँ नाङ्ग्लो पाउनै मुस्किल छ, ठेकेदारले पहिले नै अडर गरेर गएको हुन्छ’ उनले भने ।

स्थानीयले यो पेसा आफुहरुको पुख्र्यौली पेशा भएकाले यसलाई जगेर्ना गर्ने उदेश्यले समेत अंगाल्दै आएको बताएका छन् । पेसा बचाउन पछिल्लो समय बाँस पाउनै मुस्किल रहेको उनीहरुको गुनासो छ । बाँसमार्फत बनिने यस्ता सामाग्रीहरुलाई संरक्षणका लागी स्थानिय सरकारको समेत ध्यान जानुपर्ने स्थानीयको बुझाई छ ।

News24Nepal.TV

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments