किसानको उत्पादन अब सिधै उपभोक्तासमक्ष

काठमाडौँ, कृषिजन्य उत्पादनमा उत्पादक र उपभोक्ताका बीचमा भएको दूरी कम गर्नका लागि युवा कृषक फरक तरिकाले जुट्न थालेका छन् । उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिन र बिचौलियाले लिइरहेको अनुचित लाभ कम गर्नुपर्छ भन्ने सोचका साथ युवा किसान जुटिरहेका हुन् । आफैँ पसल तथा बजार खोजेर आफ्ना उत्पादन आफैँ बिक्री गर्दै वितरणमा युवा कृषक सक्रिय हुने क्रम सुरु भएको हो ।
किसानको उत्पादन सीधै उपभोक्तामा पु¥याउनुपर्छ भन्ने सोचका साथ कलङ्कीमा भेज मार्ट नामको आफ्नै बिक्रीस्थल खोलेर हेटौँडाका कृषक ताराबहादुर स्याङ्तानले बिक्री वितरण सुरु गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, २० वर्षदेखि हाम्रो उत्पादन कालीमाटी तरकारी बजारका लागि दिइराखेका थियौँ, हाम्रो आँखा अगाडि हामीबाट २० रुपियाँमा किनिएको उत्पादन बिचौलियाले सय रुपियाँमा बेच्दा चुपचाप बस्न बाध्य भयौँ । लगानीबिना नै ती सबै व्यापारी खर्बपति भए किसान जहाँको त्यहीँ छन्, बिचौलियालाई दिँदा लगानी नै उठ्दैन । गलत प्रवृत्ति विरुद्धमा जाग्नुपर्छ भनेर सानो प्रयास सुरु गरेका हौँ ।
उपभोक्ताबाट निकै राम्रो प्रतिक्रिया आएको हुँदा आफू निकै उत्साही भएको उल्लेख गर्दै उहाँले अब सङ्कलन पनि गर्ने सोच बनाएको बताउनुभयो । उहाँले अर्गानिक आलु, अदुवा, बन्दा, काउली, फर्सीलगायतका तरकारी तथा गेडागुडी बेच्न सुरु गर्नुभएको हो ।
हेटौँडा थाहा नगरपालिकाका स्याङ्तानले त्यहाँको चिसापानी, चौवास र डाडावास भन्ने गाउँ र आसपासमा वर्षको करिब एक अर्बकै अर्गानिक आलु उत्पादन हुने गरेको उल्लेख गर्दै भन्नुभयो, हाम्रो उत्पादनको मूल्य हामीले निर्धारण गर्न पाएका छैँनौ, अबको हाम्रो प्रयास आफ्नो उत्पादनको मूल्य आफैँ निर्धारण गरेर प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुग्ने हो ।
युवा कृषक मिलेर विभिन्न ठाउँमा फार्मर्स मार्केटको नामबाट कृषिजन्य उत्पादनको हाटबजार लगाउने क्रम सुरु भएको छ । आर एन्ड डी इन्नोभेटिभ सोलुसन (एग्री सेन्टर)का सीईओ तथा फार्मर्स मार्केटका अभियन्ता सुनीता नेमाफुकी भन्नुहुन्छ, पहिलेको हाटबजारको विकसित रूप फार्मर्स मार्केट हो, यसबाट किसानका लागि बजारको व्यवस्थापन र उपभोक्तालाई स्वस्थ, ताजा र पोषिलो खानेकुरा खाने मौका मिल्छ । यसरी बजार लगाउँदा उत्पादक र उपभोक्ताको भेट हुने हुँदा उपभोक्ताको प्रतिक्रियाका आधारमा उत्पादकले आफ्नो उत्पादनका बारेमा बुझ्ने मौका पाउने गरेको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, यसबाट ग्रामीण जीवनस्तर उकास्न, खेतीको संरक्षण गर्न, स्थानीय अर्थ व्यवस्थालाई मजबुत बनाउन र ताजा, पौष्टिक खानाको पहुँच बढ्छ । फार्मर्स मार्केटमा कुनै निश्चित दिनमा किसानले आफ्नो उत्पादन बिक्रीका लागि ल्याउँछन् भने उपभोक्ता प्रत्यक्ष रूपमा उपस्थित भएर खरिद गर्छन् ।
अमेरिकामा यस्ता मार्केटका विषयमा बुझ्न पुगेकी सुनीताले त्यहाँ आठ हजारभन्दा बढी फार्मर्स मार्केट रहेको बताउनुभयो । यसबाट गुणस्तरसँगै विश्वसनीयता काम हुन्छ । उहाँहरूले फार्म टु टेबुल भनेर पनि विभिन्न ठाउँमा उपभोक्ताको माग अनुसार बजार लगाइदिने गरेको जानकारी दिनुभयो ।
ललितपुरको टिकाथलीमा करिब एक दशकअघिदेखि दुई सय रोपनीमा अर्गानिक तरकारी उत्पादन गरेर बजारमा पस्दा अत्यन्त असहज अवस्था भोग्नुपरेको तीतो यथार्थ छ युवा कृषि उद्यमी तेजबिक्रम थापासँग । हामीले ललितपुरमा उत्पादन गरेको उत्पादनलाई ललितपुरकै तरकारी बजारमा सहज रूपमा बेच्न पाएनौँ । त्यहाँ ८२ वटा स्टल थिए हामीले अर्गानिक भनेर दुईवटा स्टल राख्दा त्यहाँको सिन्डिकेटले हामीलाई निकै अप्ठेरो बनायो ।
अहिले आफ्नै ३० वटा आउटलेटबाट उत्पादन बेच्न सुरु गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, नेपाल भरका किसानका विषादीरहित दुई सयभन्दा बढी उत्पादनलाई ल्याब टेस्ट गरेर बेच्ने प्रबन्ध मिलाएका छौँ, हाम्रा उपभोक्ताका लागि उपभोग्य चिजमा गुणस्तर कायम गरेर ब्रान्ड स्थापित गरेका छौँ । ‘पेस्टिसाइड फ्रि’ भनेर लेबल लगाएर प्याकेजिङ गरेर हाम्रा उत्पादन बिक्री गरिरहेका छौँ । किसान र उपभोक्ताका बीचमा ठूलो खाडल छ यसलाई कम गर्न प्रत्यक्ष बजारबाट मात्र सम्भव छ । धेरैतिरबाट साथीहरू लाग्नुभएको छ नयाँ ट्रेन्ड सुरु हुँदैछ ।
बजारमा अर्गानिक उत्पादनभन्दा वित्तिकै महँगो हुन्छ भन्ने भ्रम भएको उल्लेख गर्दै उहाँले त्यसलाई कम गर्न आउटलेटबाट सम्भव भएको बताउनुभयो । प्रत्यक्ष रूपमा बजारमा जाँदा किसानले आफ्नो उत्पादनको मूल्य आफैँले निर्धारण गरी उचित मूल्य पाउनसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी सञ्जालका अध्यक्ष लोचन बस्नेतले भक्तपुरको गठ्ठाघरमा स्थानीय उत्पादन बेच्नका लागि एकहप्तापछि नयाँ स्टोर उद्घाटन गर्दै हुनुहुन्छ । बस्नेतले भन्नुभयो, बिचौलियाहरूले किसानको उत्पादनलाई ठूलो बार्गेनिङ गरे किसानसँग उपाय छैन मरोस् भन्न बाध्य भएका छन् ।
अब व्यवसायीको उत्पादन, बिक्री वितरण र सेवा प्रवाहलाई उत्पादकले एकसाथ बजारसम्म पु¥याउनुपर्ने धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, किसानमा उत्साह ल्याउन र अनियमितता रोक्नका लागि प्रयास गर्दैछौँ । डेढ वर्षभित्र ७७ वटा जिल्लामा कृषिजन्य उत्पादन सङ्कलन, प्रशोधन केन्द्र र कृषिसँग सम्बन्धित उद्योग स्थापना गर्ने तयारीमा जुटेको उल्लेख गर्दै उहाँले भन्नुभयो, बिचौलियाविहीन बनाएर गाउँ र सहरको सम्बन्धलाई जोड्दै छौँ ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments