सिजन अगावै सुन्तला बजारमा

बागलुङ, सधैँजसो कात्तिक मङ्सिरमा सुन्तला टिप्न व्यस्त हुने बागलुङका अगुवा किसान टोपबहादुर खड्का सिजनको चार महिना अगावै सुन्तला बजार पठाउन व्यस्त हुनुहुन्छ । बागलुङ नगरपालिका–८ सिगानाका किसान खड्काले आफ्नो बगानमा लगाएका एक सयभन्दा बढी सुन्तलाका बोटका सुन्तला पाक्न थालेपछि सिजन अगावै बजार पठाउन व्यस्त हुनुभएको हो ।
चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएका अगुवा किसान खड्काले लगाउनुभएका नयाँ जातका सुन्तला सिजन अगावै पाक्न थालेपछि बजारमा बिक्रीका लागि पठाउने गरेको बताउनुहुन्छ ।
चार वर्ष अगाडि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमा लटरम्म फलेका सुन्तला भदौदेखि नै पाकेपछि नेपालीको महान् चाड दसैँ लक्षित गरी सुन्तला बजार पठाउने तयारी गरिरहेको बताउनुहुन्छ ।
कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता र आफ्नो कृषिप्रतिको अध्ययन अनुसन्धानका क्रममा कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रमा पुग्नुभएका खड्काले त्यहीँबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर रोप्नुभएको थियो ।
नेपालमा अधिकांश कात्तिक, मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ, असोजमै पाक्ने जापानिज उन्सो जातको सुन्तला खेती गर्नुभएको छ ।
मौसमी सुन्तलाको मूल्यभन्दा तेब्बर बढी मूल्यमा बिक्री हुने उन्सो जातको सुन्तलाको स्वाद मौसमी सुन्तलाकै जस्तो भएकाले यसले राम्रो बजार पाएको कृषक खड्काले बताउनुभयो ।
मैले चालीस वर्ष स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आइरहेको थिएँ, अध्ययन गर्दै जाँदा जापानिज जातको उन्सो सुन्तला लगाउने सोच आएपछि त्यही खेती गरेको हुँ, अहिले आफ्नो बगानमा करिब एक सय बोटमा लटरम्म सुन्तला पाकेकाले दसैँ अगावै बजार पठाउने तयारी गरिरहेको छु खड्काले भन्नुभयो । ४० वर्ष अगाडिदेखि नै आफ्नो पाँच रोपनी जग्गामा मौसमी सुन्तला खेती गर्नुभएका खड्काले व्यवसायलाई विस्तार गरी थप १४ रोपनी जग्गा भाडामा लिएर विभिन्न प्रजातिका सुन्तला खेती गरिरहनुभएको छ ।
नेपालमा फागुन चैतमा पाक्ने मर्कर, मङ्सिर पुसमा पाक्ने कोङवान, विन्तो तथा भदौ असोजमा पाक्ने उन्सो प्रजातिका बिरुवासमेत उपलब्ध हुने गरेकाले बाह्रै महिना सुन्तला बिक्री गर्ने गरी आफ्नो फर्मलाई विस्तार गर्ने तयारीमा रहेको खड्काको भनाइ छ । उबेला खेतीयोग्य जमिनमा सुन्तला रोप्दा सबैबाट एक्लिएको बताउने कृषक खड्काले आफूले तत्कालीन समयमा गरेको अभियान अहिले आएर सफल भएको बताउनुहुन्छ ।
१६ वर्ष शिक्षण पेसा छाडेर २०५४ सालमा साविक सिगाना गाविसको अध्यक्ष बन्नुभएका खड्का गाविस अध्यक्षको कार्यकाल समाप्त भएपछि निरन्तर कृषि कार्यमा लागेको बताउनुहुन्छ । जागिरसँगै कृषि कार्य गरिरहेका थिए पछि राजनीतिक परिस्थितिबस गाविस अध्यक्ष हुँदा आफ्नो व्यावसायिक कृषि अभियानमा केही अवरोध आए पनि कार्यकाल समाप्तिपछि पुनः कृषि कार्यमा लागेको छु, खड्काले भन्नुभयो । आफ्नो बगानका पुराना सुन्तला धेरै मासिए, अहिले नयाँ जातका सुन्तला र पुराना जातका सुन्तलालाई जोगाउँदै पुनः आफ्नै गाउँ फर्किएर सुन्तला खेती गरिेहको छु, खड्काले भन्नुभयो । नेपालमा कृषि उपज उत्पादन, बजारीकरणका बारेमा राज्यले खासै चासो दिन नसकेको भन्दै खड्काले नेपालको हावापानी अनुसार उचित हुने फलफूल खेती मात्र गर्न सुझाव दिनुहुन्छ । नेपालमा अहिले सफल भएको फलफूल खेती स्याउ र सुन्तला मात्र हो, उपल्लो भेगमा स्याउ र पहाडी भेगमा सुन्तलाबाहेक अन्य फलफूल उचित रूपमा फस्टाएको नदेखिएकाले सोहीस अनुसार राज्यले नीति बनाएर अगाडि बढ्नुपर्छ ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments