खाद्य गोदाम रित्तै

मुगु — दसैं–तिहार नजिकिँदै गर्दा जिल्लाका खाद्य गोदामहरू रित्तै भएका छन् । सदरमुकाम गमगढी, श्रीकोट, सोरुकोट र पुलुका खाद्य डिपो चामल अभावमा रित्ता भएका हुन् ।

जिल्लामा चालु आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल ढुवानी नभएको खाद्य संस्थानले जनाएको छ । संस्थानका अनुसार गत वर्षको मौज्दात चामल सकिँदा सबै गोदाम खाली भएका हुन् । सोरु गाउँपालिकाको सोरुकोट, खत्याड गाउँपालिकाको श्रीकोट र मुगमकार्मारोङ गाउँपालिकाको पुलु खाद्य डिपोमा गत साउन महिनादेखि चामल सकिएको हो ।

दसैं–तिहार नजिकिँदै गर्दा गोदाममा चामल नभएपछि स्थानीय चिन्तित भएका छन् । चामल लिन खाद्य डिपोमा आएका स्थानीय रित्तै फर्किने गरेका छन् । गोदाममा चामल नहुँदा दसैं मनाउन समस्या हुने देखिएको सोरुकोट गाउँका पदम शाहीले बताए ।

अन्नबाली पाकिनसकेकाले समस्या हुने देखिएको छ,’ उनले भने, ‘नजिकैका खाद्य डिपोमा चामल छैन, अन्यत्रबाट ढुवानी गरेर ल्याउन धेरै समस्या छ ।’ सोरु गाउँपालिकाका अधिकांश बस्तीमा सिँचाइ सुविधा नभएकाले र जमिन भिरालो भएकाले अन्न उत्पादनमा समस्या छ । चाडपर्वमा स्थानीयलाई खाद्यकै भरपर्नु बाध्यता छ ।

सदरमुकाममा गतवर्षको तीन सय क्विन्टल जापानिज चामलमात्र जगेडा छ । उक्त चामल महँगो भनेर स्थानीयले किन्न मानेका छैनन् ।

गोदाममा अरू चामल एक दाना पनि नभएको संस्थानले जनाएको छ । चालु आर्थिक वर्षको चामल ढुवानी सम्झौता असोज १९ गतेसम्ममात्र भए पनि ढुवानीमा ढिलाइ भएको खाद्यप्रमुख भरतराज खनियाँले बताए । सम्झौतामै ढिलाइ भएकाले ढुवानीमा ढिलाइ भएको उनले जनाए । ‘ढुवानी नहुँदा ग्रामीण भेगका डिपोहरू खाली भएका छन्,’ उनले भने, ‘दसैं र तिहारका लागि केही दिनभित्रै तीन/चार ट्रक चामल बर्दियाको राजापुरबाट आइपुग्ने जानकारी आएको छ ।’

उनका अनुसार त्यसबाहेक अन्य व्यवस्था केही हुन सकेको छैन । सोरुकोट, श्रीकोट र पुलु खाद्य डिपोमा चामल नभएपछि त्यहाँ कार्यरत कर्मचारी सदरमुकाम आएर बसेको उनले जनाए ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments