पशुपालनसँगै होमस्टे

स्याङजा — उनी ब्रेन ट्युमरका बिरामी हुन् । उमेरले ४६ पुगे । २२ वर्षको हुदाँदेखि नै उनलाई बिसञ्चो हुन सुरु भएको थियो ।

उपचारपछि पशुपालनमा जुटेका आँधीखोला गाउँपालिका १ बेझाङका बुद्ध गुरुङको जाँगर देख्नेका लागि नमुना नै छ । उनले दाजुहरूको सहयोगमा लगानी जुटाएर व्यावसायिक भैंसी र बाख्रापालन गरिरहेका थिए । अब सँगै होमस्टे पनि सञ्चालनमा ल्याएका छन् ।

‘हेर्दा सामान्य लाग्लान् तर नयाँ प्रविधिअनुसार खोर बनाएका छौं,’ उनले भने, ‘आधुनिक खोर तीनवटा छन् । प्रतिखोरमा ३० बाख्रा अटाउँछन ।’

हाल उनका ६० बाख्रा छन् । खोरभित्र माउ बाख्रा, पाठापाठी, बोका, खसी, ब्याउने र सुत्केरी बाख्रालाई छुट्टाछुट्टै स्थानमा राख्ने व्यवस्था मिलाइएको छ । टाउकाको अपरेसन गरेकाले गुरुङ सामान्य सरह तागतिला ज्यान भएका छैनन् । स्थानीय स्तरबाट नै ८ देखि १० हजार रुपैयाँसम्म पर्ने बाख्रा किनेर ल्याएका उनले बीउ बोका भने ४० हजारमा खरिद गरेर ल्याएका हुन् ।

उनको कामलाई दुई छोरा, एक छोरी र श्रीमतीले पनि सघाएका छन् । ‘आम्दानी राम्रो छ,’ उनले भने, ‘दाइहरू वकिल तथा लाहुरे छन् । घरमा आउन पाउँदैनन् । मेरा लागि नै व्यवसाय सुरु गर्न लगानी गरिदिएका हुन् ।’ गत वर्ष ब्लु हेवन एग्रो फर्म दर्ता गरेर पशुपालन थालेका उनले तीन महिनायता होमस्टे पनि सुरु गरेका हुन् । होमस्टेका लागि तीनवटा कोठा छुट्याइएको छ ।

होमस्टे र व्यवसायमा सघाउन उनले सातजना स्थानीयलाई रोजगारी पनि दिएका छन् ।

सिन्धुपाल्चोकबाट काम खोज्दै आइपुगेका उनका सहयोगीमध्ये दुईजना महिला छन् । व्यवस्थापनको काम गुरुङ आफैंले नेतृत्व गरेका छन् । श्रीमती मनुमायाले भन्छिन्, ‘सबैका लागि कामको जिम्मेवारी बाँडेका छौं ।’ होमस्टेका पाहुनाका लागि आफ्नै बारीका कृषि उपज खुवाउने गरिएको उनले बताइन् । ‘पाहुनाका लागि लोकल खानेकुरा बनाउँछौं,’ उनले भनिन्, ‘घरकै अण्डा, खसी, कुखुरा, तरकारी सबै छन् ।’ आफ्नै बारीमा उब्जाएको कोदो पनि अर्गानिक खानेकुराको रूपमा राम्रैगरी बिक्री हुने गरेको उनले बताइन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments