धानमा कालोपोके रोग

जाजरकोट — भेरी नगरपालिका–१, कालेगाउँमा धानबालीमा ‘कालोपोके’ रोग फैलिएको छ । रोगले भित्र्याउने बेलाको धान नष्ट गरेपछि कृषक मर्कामा परेका छन् । वर्षे खेतीमध्येको प्रमुख धानबालीमा रोगले ७० प्रतिशत क्षति पुर्‍याएपछि किसान निराश बनेका छन् ।

जिल्लाको भेरी नगरपालिका–१, होलु जिउला र कालेगाउँ धान उत्पादनको पकेट क्षेत्र मानिन्छ । किसानले धेरै उत्पादनको आसमा यूएस ३१२ हाइब्रिट जातको धान लगाएका थिए । रोगले पाक्न लागेको धानको बालामा कालो ढुसी लागेर नष्ट गरेको स्थानीय किसान दलबहादुर खत्रीले बताए ।

दु:ख गरेर लगाएको धानखेती नष्ट भएपछि घरपरिवार के खाएर बाँच्ने भन्ने चिन्ता भएको उनले बताए । यूएस ३१२ हाइब्रिट जातको धानखेतीमा कालोपोके रोग लागेको हो । कालेगाउँका नरबहादुर बस्नेतका अनुसार ५५ घरधुरीले लगाएको धानबाली नष्ट भएको छ । रोगको संक्रमणले धानका गेडा कुहिएको उनले बताए । उनका अनुसार रोगले कालेगाउँका स्थानीयको ३० हेक्टर खेतबारीको धानबाली नष्ट गरेको छ । यस रोगलाई स्थानीय भाषामा ‘कुकाँ’ भन्ने चलन छ । कालोपोके रोग कालेगाउँमा पहिलो पटक देखापरेको हो । रोग नियन्त्रणका लागि सम्बन्धित निकायबाट कुनै पनि प्रयास हुन नसकेको किसानले गुनासो गरेका छन् । कालेगाउँका कृषक गत वर्षदेखि मकै तथा तरकारी खेती छाडेर धानखेतीतर्फ आकर्षित भएका थिए ।

जिल्ला कृषि ज्ञान केन्द्रका प्राविधिकले कालेगाउँको धानमा लागेको रोग कालोपोके भएको बताएका छन् । कालोपोके रोगको उपचार नभएको कृषि प्राविधिक टोपबहादुर नेपालीले बताए । हाइब्रिट जातको धानमा बीउको माध्यमबाट कालोपोके रोग फैलने गरेको नेपालीको भनाइ छ । ‘बीउ लगाउनुपूर्व विषादी हालेर पानीमा भिजाउनुपर्ने हुन्छ, तर कृषकले सिधै लगाउँदा समस्या आएको हो,’ उनले भने, ‘रेसिसेन्स भन्ने रोगको जीवाणुमा कर्णशंकर जातसँग लड्न सक्ने क्षमता कम हुने हुँदा हाइब्रिट जातको खाद्यबालीमा यो रोग बढी फैलने गरेको छ ।’ यो रोगका जीवाणु हावाको माध्यमबाट अन्य स्थानसम्म फैलिने उनको भनाइ छ । तर यस रोगका जीवाणुले स्थानीय जातको धानलाई भने क्षति गर्न नसक्ने उनले जानकारी दिए ।

‘कृषकले धान लगाउँदा कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको बीउ लगाउनुपर्ने हुन्छ,’ कृषि प्राविधिक नेपालीले भने,‘कृषकले आफूखुसी धानको बीउ लगाउँदा विभिन्न रोगको संक्रमण बढ्दै गएको हो ।’

www.kantipurdaily.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?