धान भित्र्याउने चटारो

बझाङ — असोज लागेपछि किसानलाई बोल्ने फुर्सद छैन । पहिलो सातादेखि धान भित्र्याउने चटारोले किसानको व्यस्तता बढेको हो । जिल्लाका जुनसुकै ठाउँमा गए पनि किसान धान काट्ने, चुट्ने, सुकाउने र पराल थन्याउनेलगायत काममा व्यस्त छन् ।

‘धान भित्र्याई नसकुन्जेल ढुक्कले सुत्न पाइँदैन,’ बुंगल नगरपालिका ६ मजिउनका किसान नरे बोहराले भने, ‘वर्षभरिको मिहिनेत लागेको छ । वर्षा भयो, असिना पर्‍यो भने समस्या होला भनेर रात दिन नभनेर काम गरिरहेका छौं ।’ उनले दिउँसो धान काट्ने र राति चुट्ने गरेको बताए । उनी कामको व्यस्तताले दिनमा ३/४ घन्टा मात्र सुत्छन् ।

जिल्लाका केदारस्युँ, थलारा, खप्तड छान्ना, छबिसपाथिभेरे, बित्थड चिर, दुर्गाथली, तल्कोट र मस्टा गाउँपालिका तथा जयपृथ्वी नगरपालिकाका किसान पनि अहिले धान भित्र्याउने चटारोमा छन । बझाङमा यस वर्ष करिब ८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । यहाँको उच्च हिमाली क्षेत्रमा रहेका सुर्मा र काँडा गाउँपालिकामा मात्र धान खेती हुँदैन ।

धान भित्र्याइसकेपछि जिउला (धान फल्ने फाँट) मा धौडा (बस्तुभाउलाई छाडा छोड्ने) गरिन्छ । त्यसैले रातदिन नभनेर काममा लागिरहेको रायलका किसान कुम्भ भण्डारीले बताए । ‘२० गते धौडा छोड्ने निर्णय भएको छ,’ उनले भने, ‘त्यही भएर कामको धमारा (चाप) छ ।’ धौडा छोड्नुभन्दा अघि किसान अरूको पर्म जाने गर्छन् ।

यो वर्ष समयमै रोपाइँ सकिएको र रोग कीराको प्रकोप नदेखिएका कारण धानको उत्पादन राम्रो हुने कृषि ज्ञान केन्द्रको कार्यालयको अनुमान छ । स्थानीय जातहरूको मूल बीउ र उन्नत जातको धानको बीउ बढी प्रयोग भएका कारण समग्र उत्पादन राम्रो हुने अनुमान गरिएको वरिष्ठ जिल्ला कृषि विकास अधिकृत राजेशकुमार केसीले बताए । ‘तीन वर्षयताकै राम्रो धान उत्पादन हुने अनुमान गरेका छांै,’ उनले भने, ‘गत वर्षभन्दा न्यूनतम १५ र अधिकतम २० प्रतिशत उत्पादनमा वृद्धि हुन्छ ।’

उत्पादन वृद्धि गर्नका लागि बीउको छनोट, कम्पोस्ट मल बनाउने तथा खेतमा हाल्ने तरिका र खेती गर्ने प्रविधिमा पनि किसानहरू सचेत हुँदै गएका कारण जिल्लामा धानको उत्पादन क्रमश: बढ्दै गएको वरिष्ठ जिल्ला कृषि विकास अधिकृत केसीले बताए ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments