चिया कारखानामा मजदुरले लगाए ताला

धनकुटा — धनकुटाको हिलेमा रहेको गुराँसे टि स्टेट कारखानामा आन्दोलनरत मजदुरले मूल गेटमा बुधार तालाबन्दी गरेका छन् । अघिल्लो महिना निष्कासन गरिएका ज्यालादारी मजदुरको पुनर्बहाली गरिनु पर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रिएका मजदुरले चिया कारखानाको मुल गेटमा ताला लगाएका थिए ।

तर, संयुक्त संघर्ष समितिको अगुवाईमा लगाइएको ताला प्रहरीको उपस्थितिमा कारखानामा कार्यरत अन्य मजदुर समूहले नै तोडेका छन् ।

मजदुर आन्दोलनका कारण गुराँसे टि स्टेट, जुन चियाबारी तथा नारायणी चिया कारखाना प्रभावित बनेको छ । कारखाना व्यवस्थापनले ठेक्का प्रणालीबाट काममा लगाउने भन्दै ७० बढी ज्यालादारी मजदुरलाई कामबाट निष्कासन गरेपछि विवाद उत्पन्न भएको संयुक्त आन्दोलन संघर्ष समिति सदस्य तथा चिया मजदुर संघका केन्द्रीय उपाध्यक्ष नारायण तामाङले बताए । आन्दोलनरत पक्षले मजदुर निष्कासन मजदुरको पुनर्वहाली, श्रम ऐन २०७४ कार्यान्वयन हुनु पर्ने तथा सरकारले निर्धारण गरेको दैनिक पारिश्रमिक कायम गरिनु पर्ने माग अघि सारेका छन् ।

सरकारले गत साउन १ गतेदेखि लागू हुनेगरी चिया मजदुरको साविकको दैनिक पारिश्रमिक २ सय ७८ बाट बढाएर ३ सय ८५ कायम गरे पनि त्यसको कार्यान्वयन नगरिएपछि मजदुर आन्दोलित भएका चिया मजदुर संघका केन्द्रीय उपाध्यक्ष तामाङले बताए ।

कामअनुसारको ज्याला उपलब्ध गराएर ठेक्का प्रणालीबाट काम गराउन पुराना मजदुरलाई निष्कासन गरिएको कारखाना व्यवस्थापनले जनाएको छ । तर, मजदुर कृष्ण ठकुरीले केही महिनादेखिको बाँकी तलब र चाडपर्वको मुखमा रोजगारी खोस्न नपाउने बताए । कारखानामा काम गरिरहेका मजदुरसँग समन्वय समेत नगरी आन्दोलन र तालाबन्दी गर्दा आफूहरुलाई मर्का परेको मजदुर नारायण कटुवालले गुनासो गरे ।

अखिल नेपाल चिया मजदुर संघ इकाई अध्यक्ष निर्मला तामाङ दाहालले सरकारले ३ सय ८५ तोकेको भएपनि २ सय ५३ मात्र दिएर कामबाट निष्कासन गरेकोले पुनर्बहालीको माग गर्दापनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताइन् ।

www.kantipurdaily.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?