माछापालनमा बढ्यो आकर्षण

धनगढी, सुदूरपश्चिम प्रदेशमा माछापालनमा कृषकको रुचि बढ्दै गएको छ । किसानको रुचि बढ्दै जाँदा मत्स्यपालन केन्द्र गेटामा माछाका भूरा बिक्री वितरण निकै बढेको छ ।
कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रका अनुसार गत आर्थिक वर्ष माछाका भूरा बिक्री वितरण गर्दा ३९ लाख पाँच सय राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको साउन, भदौमा मात्रै १७ लाख रुपियाँ बराबरका भूरा बिक्री भएका छन् ।
वरिष्ठ मत्स्य विकास अधिकृत दीपक भुषालका अनुसार अहिलेझैँ भूरा बिक्री वितरणको क्रम जारी रहने हो भने चालु आर्थिक वर्षमा ५० लाख बढी राजस्व सङ्कलन हुने देखिन्छ । मत्स्य विकास केन्द्रले पुस, माघ र फागुनबाहेकका नौ महिना नै भूरा बिक्री वितरण गर्ने गरेको छ ।
सो केन्द्रबाट तराईका कैलाली, कञ्चनपुर जिल्लामा धेरै भूरा बिक्री वितरण हुँदै आएको छ । फाटफुट रूपमा पहाडी जिल्ला डडेलधुरा, डोटी र अछाममा पनि भूरा लैजाने गरिन्छ । पहाडी जिल्लाको तुलनामा बाँके र बर्दियामा अलि धेरै भूरा लगिने गरिएको छ ।
वरिष्ठ मत्स्य विकास अधिकृत भुषालले हरेक वर्ष भूरा बिक्री वितरण बढ्दै गएको जानकारी दिनुभयो । उहाँका अनुसार २०७२÷७३ मा २९ लाख रुपियाँका भूरा बिक्री भएकोमा २०७३÷७४ मा ३५ लाख रुपियाँ बराबरका भूरा बिक्री भएका थिए ।
माछापालनमा कम झन्झट हुने, कामदार कम चाहिने माछामा रोग नलाग्ने भएकाले आफूहरू माछापालनमा आकर्षित भएको गदरियाका किसान होरीलाल चौधरी बताउनुहुन्छ । कैलाली र कञ्चनपुरमा एक हजार ५० जना किसानले एक हजार ७५० हेक्टर पोखरीमा माछापालन गर्दै आएका छन् । तीमध्ये एक हजार तीन सय हेक्टर प्राकृतिक र २५० कृत्रिम ताल रहेका छन् । कृत्रिम तालमा प्रतिहेक्टर तीन मेट्रिकटन र प्राकृतिकमा एक मेट्रिकटन माछा उत्पादन हुने गरेको अनुमान छ ।
खास गरेर ग्रासकार्प, सिल्भरकार्प, विगेटकार्प, रौ, नैनी र भाकुर माछापालन हुने कैलाली कञ्चनपुरमा वार्षिक दुई हजार मेट्रिकटन माछा उत्पादन हुने गरेको अनुमान वरिष्ठ मत्स्य विकास अधिकृत भुषालले गर्नुभयो ।
कैलाली, कञ्चनपुरका बासिन्दा १० वर्ष अघिसम्म भारतीय माछामा निर्भर थिए तर पछिल्ला वर्षमा माछाको झण्डै आधा मागपूर्ति कैलाली, कञ्चनपुरकै किसानले गर्न थालेका छन् ।
राष्ट्रिय उत्पादनमा १२ प्रतिशत योगदान दिँदै आएको माछापालनमा किसानलाई प्रोत्साहित गर्न मत्स्यपालन केन्द्रले ३६ वटा पोखरीमध्ये १८ मा भूरा उत्पादन, १२ मा माउको व्यवस्थापन, तीनमा शुद्ध नश्ल व्यवस्थापन र एकमा खानेमाछा उत्पादन गरिरहेको छ ।
मत्स्य विकास केन्द्रले भूरा उत्पादनका लागि २० बिघा जमिन प्रयोग गर्दै आएको छ । सो केन्द्रले किसानलाई ८० प्रतिशत भूरा किसानलाई दिने गर्दछ ।
माछापालनमा कृषकको रुचि बढ्दै गएकोले यस वर्ष ८० करोड रुपियाँको माछा बिक्री हुने अनुमान वरिष्ठ मत्स्य विकास अधिकृत भुषालको छ । अघिल्लो वर्ष कैलाली, कञ्चनपुरका किसानले ५५ करोड रुपियाँ बराबरको माछा बेचेका थिए ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments