विदेशमा नभएको कमाइ घाँसबाट

फिदिम नगरपालिका–२ देउरालीका किसान टेकनाथ रिमालले साथीभाइले जस्तै धन कमाउन धेरै सङ्घर्ष गर्नुभयो । दस वर्ष झापाको धरमपुरमा किराना पसल गर्नुका साथै तीन वर्ष कतारमा कष्टकर रोजगारीमा घोटिनु भयो । यस्तो दुःख गर्दा पनि टेकनाथ समाजमा धन आर्जन गर्ने व्यक्तिका रूपमा चिनिन सक्नु भएन । उल्टै आर्थिक नोक्सान भोग्नुभयो । पसल गर्दा घरघडेरी नै डुबाएर सुकुम्बासी हुनु परेको पीडा उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, उस्किन विदेशिँदा बिरामी भएर चाँडै फर्किनु पर्दा साहूको ऋण तिर्ने काम मात्र भयो । स्वदेश फर्किएर ससुराली गाउँ देउरालीमा घाँस खेती थाल्दा भने उहाँलाई नसोचेको सफलता मिल्यो । यही घाँस खेतीले आफूलाई पैसा कमाउने बनाएको टेकनाथले खुसी हुँदै सुनाउनुभयो ।
घाँस बेचेरै अहिले उहाँ लखपति बन्दै जानुभएको छ । घाँसबाट गत वर्ष दुई लाख साटेकोमा यो वर्ष दोब्बर हुने र अर्को वर्ष सात लाख रुपियाँ साटिने टेकनाथको विश्वास छ । तीन वर्षअघि उन्नति प्रोजेक्टले घाँसको बीउ दिएर यसको खेतीमा टेकनाथलाई प्रोत्साहित गरेको थियो । उन्नतिले सियोफोर र मुलाटो जातको घाँसको बीउ तनहँुबाट ल्याएर दिएको थियो । सेटेरिया र गीनी जातको बीउ पशु सेवा कार्यालयले दियो । थप मेन्दोला, भट्मासे, बदामे, किम्बुलगायत जातका बीउ आफैँले पनि खोजेर जम्मा १२ खाले घाँस टेकनाथले रोप्नु भएको छ । यी जातका घासले धेरै दूध उत्पादन गर्न सघाउनुका साथै पोषिलो हुने किसानको विश्वास छ । उहाँले बिरुवा फैलाउँदै लगेर अहिले ११ रोपनी निजी र बाँकी लिजसहित जम्मा २० रोपनीमा घाँस खेती गरिरहनु भएको छ ।
घाँसका जरा र काण्ड बीउका रूपमा बिक्ने गरेको छ । जरा प्रतिगोटा तीन÷चार रुपियाँ र काण्ड दुई रुपियाँसम्ममा बिक्ने बताइएको छ । किसानलाई दिन सरकारी र सहकारी कार्यालय तथा सङ्घ, संस्थाले १५ हजार र व्यक्तिले तीन हजारसम्म बीउ किनी लाने गरेका छन् । घाँसको बीउ तेह्रथुम, ताप्लेजङ र पाँचथरमा बिक्री हुने गरेको छ ।
टेकनाथले दसवटा दुधालु जर्सी गाई पनि पाल्नु भएको छ । यति धेरै गाई पाल्ने आँट घाँस खेतीले नै दिएको उहाँको भनाइ छ । अहिले चारवटाले दैनिक ६० लिटर दूध दिइरहेका छन् । दूध प्रतिलिटर ४० रुपियाँले बिक्री हुने गरेको छ । मासिक ६० हजार रुपियाँसम्म दूधबाट आम्दानी भइरहेको टेकनाथले सुनाउनुभयो ।
उहाँले घाँस दूधको आम्दानीले गाई किन्न वाणिज्य बैङ्कबाट सात लाख रुपियाँ ऋण लिएकोमा आधा तिरिसकेको सुनाउनुभयो । टेकनाथले सुरुमा ११ रोपनी जमिन एक लाख रुपियाँ बन्दकीमा लिएर घाँस खेती थाल्नुभएको थियो । उहाँले त्यही जमिनसमेत अहिले आठ लाख रुपियाँमा किनिसक्नु भएको छ । यी सफलता दिलाउने मुख्य भूमिका घाँस खेतीको रहेको उहाँले बताउनुभयो ।
टेकनाथले मकै, कोदो फल्ने गरेको लोभ लाग्दो टार बारीमा घाँस खेती थाल्दा छिमेकले धेरै खिसी गरे । यस्तो खेती गर्न परिवारले समेत मानिरहेका थिएनन् । आजभोलि यही घाँस खेतीको सफलताले टेकनाथका परिवार खुसी छन् भने खिसी गर्ने नाजवाफ भएका छन् । टेकनाथले हिसाब गरेर भन्नुभयो, घाँसको साटो मकै कोदोको मात्रै खेती गरेको भए वार्षिक ४० हजार रुपियाँसम्म मात्र आम्दानी हुने थियो । टेकनाथको पेसामा श्रीमती लक्ष्मी रिमालले साथ दिइरहनु भएको छ ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments