अलैंची किनबेच ठप्प

ताप्लेजुङ — अघिल्लो वर्षको जस्तो कारोबार भए नेपालबाट यतिबेला दैनिक छदेखि सात सय बोरा अलैंची भारत निर्यात हुनुपर्ने हो । अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईका अनुसार अहिले दुई दिनमा एक ट्रक मात्रै अलैंची निर्यात भइरहेको छ । एक ट्रकमा दुई सय ५० बोरासम्म अलैंची हुन्छ ।

किसानले अलैंची बिक्री नगरेका कारण निर्यात हुन नसकेको भट्टराई बताउँछन् । ‘अहिलेकै मूल्यमा जति पनि माग छ तर किसानले बिक्री गर्न चाहेका छैनन्,’ भट्टराईले भने, व्यापारीका गोदामहरू करिब खालीजस्तै अवस्थामा छन् ।’

अलैंची कृषक सञ्जाल ताप्लेजुङका अध्यक्ष शिवकुमार गुरुङ अहिलेको मूल्यले किसानको मजदुरी खर्च पनि नउठ्ने भएकाले बिक्री गर्ने मनसाय नबनाएका हुन् । चीनका व्यवसायीहरूले नेपालको अलंैचीको अध्ययन गरेको र अलैंची लैजाने विषयमा तीन महिनामा खबर गर्ने भनेको किसानहरू त्यसको पर्खाइमा पनि रहेको गुरुङ बताउँछन् ।

महासंघका अनुसार अहिले अलैंचीको मूल्य २९ हजार प्रतिमन (४० किलो) छ । उत्पादन सुरु भएको असारमा ३४ हजार रहेको मूल्य पनि घटेपछि उत्पादन गरेका किसानले सबै अलैंची गोदाम गर्न थालेका हुन् । कम मूल्य हुँदा चोरी हुने डर नभएकाले आफ्नैमा थन्क्याएको गुरुङ बताउँछन् ।विगतमा वर्षमा चोरीको डर हुँदा उत्पादन हुनासाथ सदरमुकाम फुङलिङमा ल्याएर व्यापारीलाई जिम्मा लगाउँथे । यो वर्ष पनि ल्याएकाहरूले गोदाम गरेको तर भाउ नकाटेको अलैंची व्यवसायी भद्र रेग्मी बताउँछन् ।

‘गत वर्षहरूजस्तै तौलेर छोडेका छन्, आवश्यक पर्नेले एक, दुई मनको पैसा पनि लगेका छन्, अरूले भाउ काटेका छैनन्,’ उनले भने, ‘किसानको आशा भाउ बढ्ला कि भन्ने रहेको छ र हाम्रो पनि त्यही हो ।’ किसानले बिक्री गरेको अलैंची भने यहाँका व्यापारीले पनि झापाका व्यापारीलाई बिक्री गरिसकेका छन् । ‘राख्यो भने भोलिको भविष्य थाहा छैन, बढीमा किन्यो मूल्य घटयो भने आफ्नै सर्वस्व गुम्छ,’ रेग्मीले थपे, ‘किनेकै दिन झापाका व्यापारीलाई बिक्री गरिरहेका छौं ।’

भाउ काटेपछि जुन दिन आवश्यक पर्छ त्यही दिन अलैंची पठाउने गरिन्छ । भारतको नयाँदिल्ली पुगेर फर्किएका व्यवसायी महासंघका अध्यक्ष भट्टराई धेरै उत्साह नभएको बताउँछन् । भारत र भुटानमा पनि उत्पादन बढेकाले मूल्य वृद्धिका विषयमा अनुमान गर्न नसकिने उनले बताए । नेपालको अलैंची यसअघि प्रतिमन १ लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो ।

कृषि सूचना तथा सञ्चार केन्द्रको तथ्यांकअनुसार नेपालमा ५ हजार ट्रनको हाराहारीमा उत्पादन भइरहेको छ । १२ हजार ४ सय ५८ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । सबैभन्दा बढी उत्पादन ताप्लेजुङले गर्छ । यहाँ २८ सय टनसम्म उत्पादन भएको कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ । नेपालको अलैंची अहिलेसम्म भारत हुँदै पाकिस्तानसहित खाडी राष्ट्रमा निर्यात हुँदै आएको छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments