च्याङ्ग्रालाई कर

काठमाडौँ — दसैंलाई लक्षित गरी व्यापारीहरूले मुस्ताङी चेलुक र च्याङ्ग्रा ओराल्न थालेसँगै अन्नपूर्ण गाउँपालिकाले एउटाको ३० रुपैयाँको दरले कर असुली थालेको छ ।

संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई खसी, बोका, चेलुक, च्याङ्ग्रा, राँगा र कुखुरामा कर नउठाउन बिहीबार निर्देशन दिएको थियो । त्यसको अवज्ञा गर्दै अन्नपूर्ण गाउँपालिकाले ढाट राखेर कर असुली सुरु गरेको हो ।

‘साबिक भुरुङ तातोपानी गाविसले वर्षौं अघिदेखि नै खसीबोका, चेलुक, च्याङ्ग्रा, राँगा र कुखुरामा कर उठाउँदै आएको थियो । यो वर्ष गाउँपालिकाले ७ लाख ३ सय रुपैयाँ कर उठाउने ठेक्का दिएको छ,’ अन्नपूर्ण २ का वडाध्यक्ष ओम फगामीमगरले भने, ‘टेन्डर गर्दा कुनै निर्देशन थिएन । हिजोआज भए हामीलाई कुनै जानकारी आएको छैन । टेन्डर लिएपछि ठेकेदारले कर उठाउनु स्वाभाविक हो ।’

दसैंका लागि व्यापारीहरूले मुस्ताङबाट शुक्रबारदेखि चेलुक र च्याङ्ग्राको पहिलो खेप म्याग्दीबाट पोखरातर्फ हिँडाएका छन् । मुस्ताङबाट हूल हिँडाएर बेनी ल्याएपछि ट्रकमा राखेर पोखरा र काठमाडांै लैजाने गरिएको व्यापारीले बताए । केही व्यापारीले भने अन्नपूर्ण ६ पोखरेबगरबाट घार–घोडेपानी–वीरेठाँटी हुँदै हूल हिँडाएर पोखरातर्फ लगेका छन ।

खसी व्यापारी ओम पुनका अनुसार यो वर्ष मुस्ताङबाट अघिल्ला वर्षभन्दा २ हजारभन्दा कम खसी झरेका छन् । मूल्य पनि बढेको छ । ‘मुस्ताङको खसी बजारमै भाउ बढेकाले योपल्ट रोजा च्याङ्ग्रा २६ हजार, चेलुक २२ हजार, भेडी १५ हजार र बाख्रीको १० हजार मूल्य तोकिएको छ,’ व्यापारी ओम पुनले भने, ‘मुस्ताङको घाँसाको कर हटे पनि म्याग्दीमा कर लिन छाडेका छैनन् । बाटोमा तिर्ने सबै कर खसीको मूल्यमा नजोडे फाइदा हुँदैन ।’

बेनी–जोमसोम सडकमा कागबेनीमा सोह्र श्राद्ध गर्न र मुक्तिनाथ दर्शन गर्न उक्लिएका तीर्थयात्रीको भीड र दसैं बजारलक्षित चेलुक–च्याङ्ग्राको बथानले बेनी–जोमसोम सडकको रौनक नै फेरिएको छ । कृषकले सोह्रश्राद्धको तिथिदेखि नै मुस्ताङका घमी, चराङ, लोमान्थाङ, छोसेर, डोल्पाको छर्काभोट र तिब्बती क्षेत्रबाट चेलुक–च्याङ्ग्रा जोमसोम खसी बजार ल्याउने गर्छन् । व्यापारीहरूले त्यही बजारबाट खरिद गरेर बेनी, बागलुङ, पर्वत हुँदै पोखरा पुर्‍याउँछन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments