गाई फार्मबाट राम्रो आम्दानी

मकवानपुरगढी, मकवानपुर — मकवानपुरका ग्रामिण भेगका एक गाईपालक कृषकले मासिक रूपमा एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । मकवानपुरगढी–५, आमभञ्ज्याङ सोलिथुम दमारका गीतनाथ हुमागाईले गाईपालन गरी मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन ।

हुमागाईको गोठमा २२ वटा माउ गाईमध्ये अहिले ८ वटा दुहुनो छन् ।

अहिले दैनिक ६० देखि ७० लिटर दूध सहकारीमा बिक्री गरिरहेका छन् । अधिकांश गाई दुहुनो हुँदा दैनिक २ सय लिटरसम्म दूध बिक्री गर्ने हुमागाईले बताए । उनको फार्ममा अहिले होलिस्टेन जातको गाई मात्र रहेका छन् ।

०६८ मंसिरमा कामधेनु गाई फार्म दर्ता गरी व्यावसायिक पशुपालन सुरु गरेका हुमागाई पशुपालनबाट कहिल्यै निराश भएनन् । मिहिनेत गरेअनुसार पशुपालनबाट आम्दानी भएकाले हुमागाई दम्पती सन्तुष्ट छन् । ‘एउटा गाईबाट दैनिक २५ लिटरसम्म दूध दुहुन सफल भएको सुनाउँदै गीतानाथले भने, ‘गत माघ महिनादेखि मेसिनले दूध दुहुन थालेपछि निकै सजिलो भएको छ, प्रविधिको प्रयोगले सजिलो र समयको पनि बचत हुने रहेछ ।’ । मेसिनबाट ७ मिनेटमा एउटा गाईको १० लिटर दूध दुहुन सकिनेछ । उनीसँग भएको मेसिनले एकैपटकमा २ वटा गाईको दूध दुहुन सकिनेछ ।

उक्त फार्मलाई ०७० मा जिल्ला पशुसेवा कार्यालय मकवानपुरले चार लाख रुपैयाँ सहयोग गरेको थियो । उक्त सहयोग रकमबाट उनले घर, गोठमा पर्खाल लगाउने, डिफ्रिज खरिद गर्ने, गाईलाई ओछयाउने म्याट र पानी तताउन सोलार प्लान्ट जडान गरेका हुन् ।

गत माघमा १ लाख ५० हजार रुपैयाँ बराबरको दूध दुहुने मेसिन पनि उनले अनुदानमा प्राप्त गरेका हुन् । घरअगाडिकै चन्द्रसूर्य दुग्ध उत्पादक सहकारी संस्थाको व्यवस्थापकसमेत रहेका गीतानाथले जिल्लाकै गाईपालक अगुवा कृषकका रूपमा परिचय बनाएका छन् । दूधको साथसाथै कोरली बाछी, माउ गाई र गोबरसमेत बिक्री गरेर राम्रो कमाइ गरिरहेका छन् । फार्म नजिकै रहेको ४ बिघा जमिनमा उनले घाँस खेतीसमेत गरिरहेका छन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments