स्याउ टिप्न चटारो/स्याउ हेर्न प्रधानमन्त्री मनाङ जाने

काठमाडौँ — यतिबेला मनाङमा स्याउ टिप्ने चटारो छ । मनाङको ङिस्याङ–१, भ्राताङको स्याउ बगैंंचामा दैनिक स्याउ टिप्नेको भीड लागेको छ । एग्रो मनाङको उक्त स्याउ फार्ममा मात्रै दैनिक ५५ जना कामदार स्याउ टिप्न खटिने गरेका छन् । ‘हाई डेन्सिटी’ प्रविधिको उक्त फार्मको ४ सय ५० रोपनीमा स्याउ फलेको छ ।

इटली र सर्भियाबाट ४ वर्षअघि बिरुवा ल्याएर रोपिएका गाला र गोल्डेन जातका स्याउका एउटा बोटमा करिब ३० किलोसम्म स्याउ फल्ने गरेको छ । खेती विस्तार गर्दै अब २ सय ८५ रोपनीमा स्याउ रोप्ने तयारी भइरहेको एग्रो मनाङका अध्यक्ष समराज गुरुङले बताए । फुजी जातका स्याउ असोज अन्तिममा मात्रै टिप्ने उनले बताए । उक्त फर्ममा अघिल्लो वर्ष ३ सय टन स्याउ फलेको थियो । चालु वर्ष उत्पादन ५ सय टन पुग्ने अनुमान छ ।

फार्म म्यानेजर पञ्चबहादुर गुरुङका अनुसार अहिले स्याउ टिप्ने र ग्रेडिङ गर्ने (गुणस्तर छुटयाउने) कार्य चलिरहेको छ । फार्ममै कोल्ड स्टोर पनि छ । ग्रेडिङ गरेर कोल्ड स्टोरमा राखिने स्याउ बिस्तारै बजार पुर्‍याइनेछ । ‘दैनिक ५५/६० जनाले स्याउ टिपिरहेका छौंं । यो क्रम एक महिना चल्छ,’ उनले भने । मनाङ ङिस्याङको भ्राताङमा मात्रै होइन, चामे गाउँपालिका र नासों गाउँपालिकाका किसान पनि स्याउ टिप्न व्यस्त छन् ।

चामे गाउँपालिका २, थान्चोककी सुरेशकुमारी गुरुङले गाउँमा स्याउ टिप्न धमाधम रहेको बताइन् । ‘गाउँका हरेक घरमा स्याउका बोट छन्,’ उनले भनिन्, ‘यतिबेला टिपेर बजार पठाउन सक्दा राम्रै आम्दानी आउँछ ।’

थान्चोककै नरेन्द्र घलेले स्याउ बजारमा लाने तयारी भइरहेको बताए । १२ रोपनी जग्गामा स्याउ फलाएका उनीकहाँ गत वर्ष ६ क्विन्टल स्याउ फलेको थियो । चामे–४ का किसान नुर्बु लामाका अनुसार स्थानीय गोल्डेन डेलिसियस जातका स्याउ टिप्न थालिएको छ । रोयल डेलिसियस र रेड डेलिसियस टिप्ने काम केही सातामै सुरु हुन्छ । दुई दशकयता स्याउ खेती गर्दै आएका उनले सडकको पहुँच विस्तारसँगै पछिल्ला वर्ष स्याउ कृषकको संख्या बढ्न थालेको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) चामे मनाङका अधिकृत राजेश्वर सिलवालले तुलनात्मक रूपमा सडक र बजारको पहुँच वृद्धिसँगै आफ्ना लागि मात्रै फलाउने किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएको बताए ।

गाला जातको स्याउ अरूभन्दा छिटो पाक्छ । गत वर्ष नफलेका स्याउका बोटमा सवबृद्धि हुने उनले बताए । यसका साथै एग्रो मनाङले भ्राताङमा खेती गरेको स्याउको उत्पादन बर्सेनि बढ्नु, वर्णशंकर जातका स्याउ खेती गर्ने किसान बढ्नु, रैथाने स्याउ उत्पादनमा पनि किसान आकर्षित, स्याउ फुल्ने मौसममा हिउँ पर्नाले पनि मनाङमा स्याउ उत्पादनमा वृद्धि हुन थालेको उनले बताए ।

मनाङबाट निर्वाचित संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङका अनुसार मनाङबाट नेपालमा स्याउ खेतीमा एउटा क्रान्तिको सुरु भएको छ । अहिले मनाङबाट काठमाडौं, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ । यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ ।

‘हिजो धेरै स्याउ फल्ने थिएन । त्यही पनि मनाङमै खपत हुन्थ्यो । केही ठाउँमा मदिरा बनाइन्थ्यो । अहिले सडक बनेपछि काठमाडौंका तारे होटमा मनाङको स्याउ पुगेको छ । अब केही वर्षमै तराईमा मनाङको स्याउ पुग्छ,’ उनले भने ।

मनाङमा तीन वर्षको अवधिलाई हेर्दा स्याउ खेती गर्दै आएको जग्गा र उत्पादनमा वृद्धि हुँदै गएको छ । साविकको जिल्ला कृषि विकास कार्यालयका अनुसार ०७४/७५ मा ८९ हेक्टर क्षेत्रफलमा ९ सय १० टन स्याउ उत्पादन भएको थियो । सडक विस्तार र बजारसम्मको पहुँच सहज हुनुका साथै छिटो र धेरै फल्ने वर्णशंकर बिरुवा भित्रिएपछि खेती गर्नेले क्षेत्र विस्तार गरिरहेका छन् ।

स्याउ हेर्न प्रधानमन्त्री जाने
भ्राताङमा एग्रो मनाङको स्याउ बारी हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आगामी बिहीबार मनाङ पुग्ने भएका छन् । दक्षिण एसियाकै ठूलो स्याउ बगान दाबी गरिएको फार्म हेर्न प्रधानमन्त्री ओली हेलिकप्टरबाट जाने कार्यक्रम रहेको फार्मका संस्थापकसमेत रहेका सांसद पोल्देन छोपाङ गुरुङले बताए ।

व्यवस्थापन मिलाउन गुरुङ शनिबार मनाङ पुगेका छन् । स्याउ बगान हेर्न आउने प्रधानमन्त्रीले फर्मको कोल्ड स्टोरको उद्घाटन पनि गर्ने कार्यक्रम छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments