किसानको बारीमा सड्दै केरा

टीकापुर – बजार नपाएपछि पश्चिम तराईका किसानको केरा बारीमै सड्न थालेको छ । कैलाली, कञ्चनपुर, बर्दिया र बाँकेका किसान यतिबेला केरा बिक्री नभएपछि निकै समस्यामा परेका छन्।

किसानका अनुसार बजारको पूरै हिस्सा भारतीय केराले ओगटेको छ । तरकारी माफियाले कमिसनको लोभमा भारतीय केरालाई प्राथमिकता दिने गरेका छन्् । उनीहरुले नेपाली केरा बिक्री गर्ने व्यापारीलाई धम्काउने गरेको किसानले बताए।

‘पूरै बजार माफियाको कब्जामा छ’ केरा किसान बिनोद साहले भने, ‘उनीहरु हाम्रो केरा किन्ने व्यापारीलाई डर त्रास देखाउँछन्।’ किसानहरु कैलाली र कञ्चनपुरको नाका हुँदै भित्रिने भारतीय केरा रोक्न सफल भएका छन् । तर नेपालगञ्जको बाटो हुँदै भारतीय केरा निर्वाध भित्रिरहेको छ।

नेपालगञ्जको बाटो हुँदै भित्रिएको केरा पश्चिम नेपालका मुख्य बजार मात्रै नभई काठमाण्डौं समेत पुग्ने गरेको छ। भारतीय केरा भित्र्याउनमा नेपाली कर्मचारीको समेत मिलेमतो रहेको किसानको आरोप छ।

नेपालको बजारलाई लक्षित गरेर भारतीय सीमा क्षेत्रमा केराखेती भइरहेको छ। त्यही केरा सस्तोमा नेपाल भित्रिएपछि आफूहरु निकै मर्कामा परेको किसान गुनासो गर्छन् । उनीहरु केरा बिक्री नभएपछि घरजग्गा लिलाम भएर सडकमा आउने अवस्था सिर्जना भएको बताउँछन्।

‘एक महिनामा केरा बिक्री भएन भने हामी बर्बाद हुन्छौं,’ केरा किसान टेकेन्द्र धामीले भने, ‘बजार पठाउन तयार भएको केरा बारीमा सडिरहेको छ।’

पश्चिम तराईका यी चार जिल्लामा करिब एक हजार ६ सय हेक्टर जमिनमा केराखेती हुँदै आएको छ । कैलाली र कञ्चनपुरमा मात्रै डेढ हजार हेक्टर केराखेती छ । यी दुई जिल्लामा वार्षिक ७८ हजार मेट्रिक टन केरा उत्पादन गरेको केरा किसान रामबहादुर कुँवरले जानकारी दिए । उनले १० हजार व्यक्तिले केराखेतीका कारण प्रत्यक्ष रोजगारी प्राप्त गरेको बताए।

केराखेतीका लागि कैलालीको टीकापुर देशभरमा चर्चित छ । टीकापुरलाई ‘बनाना हब’ का रुपमा चिन्ने गरिन्छ । धेरै व्यक्तिहरु केराखेतीमा संलग्न छन्। उनीहरुले करोडौं रुपैयाँ केराखेतीमा लगानी गरेका छन् । केरा किसान साहले मात्रै करिब दुई करोड रुपैयाँ हाराहारीमा लगानी गरेका छन् । उनी ८० बिघामा केराखेती गर्दै आएका छन्।

उनको बारी सडेका केराले गन्हाउन थालेको छ । उनले कैयौं दिनदेखि बारीभित्र पस्ने हिम्मत नजुटेको बताए । ‘बारी भित्र पस्दा रुन मन लाग्छ,’ उनले भने, ‘सबै किसानको अवस्था मेरो जस्तै छ।’

किसानले एक बिघामा केरा उत्पादन गर्दा साढे पाँच लाख खर्च हुने गरेको बताए । यसले एक दर्जन केराको २२ रुपैयाँ पर्न आउँछ । किसानले लागत दरमा केरा बेच्न खोज्दा पनि बिक्री नभएको दुःखेसो पोखे । उनीहरु सरकारले नै मूल्य निर्धारण गरेर बजारको व्यवस्था गरोस् भन्ने चाहन्छन् । ‘सरकारले नै मूल्य तोकेर बेच्ने प्रबन्ध मिलाई देओस्,’ किसान धामीले भने, ‘हामी लागत मूल्यमा बेच्न तयार छौं।’

किसानहरु राज्यले नेपाली बजारमा स्वदेशी उत्पादन नै खपत हुने व्यवस्था मिलाउन आग्रह गर्छन् । उनीहरु निर्वाध ढंगले भित्रिने भारतीय केरालाई सीमा क्षेत्रमा चेकजाँच कडाइ गरेमात्रै पनि राहत हुने बताउँछन् । सीमा क्षेत्रमा अन्य सामान भित्रिँदा कडा चेकजाँच हुने भएपनि केरा बोकेका गाडी सहज ढंगले भित्रिने गरेको किसानहरु बताउँछन् । उनीहरु तरकारी माफिया र सीमा क्षेत्रमा खटिने कर्मचारीबीच आर्थिक चलखेल हुने गरेको आरोप लगाउँछन्।

‘अन्य सामान कैयौं दिनदेखि भन्सारमा थन्किन्छ तर केरा बोकेको गाडी कहिल्यै रोकिँदैन,’ केरा किसान साहले भने, ‘यो तरकारी माफिया र कर्मचारीको मिलेमतोमा भइरहेको छ।’

किसानले भारतीय केरा रोक्न आग्रह गर्दा सरकारी निकायले विश्व व्यापार संगठनको मान्यताविपरित हुने जवाफ दिने गरेको बताए । उनीहरु विश्व व्यापार संगठनको नियम आफूहरुले मात्रै पालना गर्नुपर्ने बाध्यता रहेको सुनाउँछन् । ‘हामीले मात्रै सबै ऐन नियमको पालना गर्नुपर्छ,’ किसान साहले भने, ‘हाम्रो केरा भारततर्फ निर्यात गरौं अनि के हुन्छ।’

किसानहरु कृषिप्रधान देशका नाममा राजनीतिक भाषा मात्रै भएको बताउँछन् । उनीहरु राज्यले कृषि क्षेत्रको विकासका लागि कुनै पहल नगरेको गुनासो गर्छन् । उनीहरु भारतीय सरकारले किसानलाई प्रदान गर्ने सहुलीयतको मारमा आफूहरु परिरहेको बताउँछन्।

nagariknews.nagariknetwork.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?