चाडबाडमा कोदोको माग बढी

ताप्लेजुङ — पाँच वर्षअघिसम्म आफ्नै बारीको कोदो प्रयोग गर्ने फुङलिङ नगरपालिका ७ दोखुकी कृष्णमाया लिम्बू अहिले बजारबाट खरिद गर्न थालेकी छन् । दसैं, तिहार, चासोक तङनाम, माघे र साउने संक्रान्तिमा आउने पाहुनालाई खुवाउन र घरायसी रूपमा प्रयोग गर्न उनले कोदो किनेकी हुन् ।

रोटि, ढिंडो खानका लागि कमै प्रयोग गरिने कोदो जाँड, रक्सी बनाउन प्रयोग गरिन्छ । विशेषगरी आदिवासी जनजाति समुदायमा चाडपर्वमा आउने पाहुनालाई तोङ्बा खुवाउनका लागि यसको प्रयोग अधिक हुन्छ ।

काठ वा बाँसको ढुङग्रोमा कोदोको जाँड लगाइदिने र पानी लगाएर पिपामार्फत तान्ने चलन छ । पाहुनालाई कोदोको तोङवा र सुकुटीले सत्कार गरिने भएकाले ताप्लेजुङको तोङबा र सुकुटी प्रचलित नाम हो । तर, यहाँ आउने कोदो भने अहिले भारत झारखण्डको राँचीबाट आउने गरेको छ । झापाको बिर्तामोडबाट साविकको मेची अञ्चलका पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र सुनसरीको धरान, हुँदै कोशिका तेह्रथुम, संखुवासभा, भोजपुरलगायत पहाडी जिल्लामा निर्यात हुन्छ ।

पहाडका यी विगतमा आफैंले प्रसस्त कोदो फलाउने जिल्ला हुन् । पहिला आफ्नो उत्पादनले पुर्‍याउथे भने अहिले आयात हुन थालेको छ । पहाडमा जेठदेखि मध्य साउनसम्म कोदो रोप्ने गरिन्छ । यस्को फसल भने कार्तिकदेखि मंसिर म्ममा उठाइसक्नु पर्छ । कोदोको प्रयोग तराईमा पनि उत्तिकै हुने गरेको छ । बिर्तामोडका व्यवसायीका अनुसार झारखण्डको कोदो सिलगुडी आउँछ र त्यहाँको मिलमा यसलाई प्रशोधन गरिन्छ र बोरामा प्याक गरेर नेपाल पठाइन्छ । नेपालमा अहिले ५० किलोको बोरामात्रै प्रयोगमा छ ।

‘पहिला २५ र ५० केजीको बोरा हुन्थ्यो, २५ केजीको बोरा कम खपत भएपछि अहिले ५० केजीको मात्रै आउन थाल्यो,’ उद्योग वाणिज्य संघ ताप्लेजुङका उपाध्यक्ष तथा व्यवसायी नारान थापाले भने, ‘एक बोराको खुद्रा मूल्य २२ सयसम्म पर्ने गरेको छ ।’ मासिक कम्तीमा एक हजार बोरा ताप्लेजुङमा मात्रै खपत हुने थापा बताउँछन् ।

कृषि सूचना तथा सञ्चार केन्द्रको तथ्यांकअनुसार नेपालमा कोदो २ लाख ६८ हजार ५० हेक्टर क्षेत्रफलमा लगाइन्छ । वार्षिक उत्पादन ३ लाख ८ हजार ४ सय टनको हाराहारीमा हुने गरेको छ । अहिलेको आयातले कोदोको उपयोग बढेको र उत्पादन न्यून भएको देखाएको छ । बाल्यकालदेखि नै हाङदेवामा कोदो खेती गरेका अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणी बराल खेती प्रणाली आधुनिक नभएका कारण नेपालका किसानले खेती लगाउन छोड्दै गएको बताउँछन् ।

झारखण्डमा कोदोको खेती देखेको बताउने उनले त्यहाँ बारीको पाटा र भस्मे फाँडेको ठाउँमा पनि लगाएको बताए । ‘त्यहाँ कोदोको दाना छरिन्छ र बाली उठाउने बेलामा बाला टिपे पुग्छ । हाम्रोमा भने मकै बारी भित्र र मकै उठाएपछि एउटा/एउटा गरेर रोप्नुपर्छ,’ बरालले थपे, ‘गोड्नुपर्ने अनि एकटा/एउटा गरेर वाला टिप्नुपर्दा समय र जनशत्ति धेरै लाग्ने झण्झटिलो हुने गरेको छ ।’

झन्झटिलो भएकै कारण किसानले घर वरिपरिको बारीमा मात्रै लगाउँछन् । बर्खामा घरलाई पानीले असर नपुर्‍याओस् र बाढीपहिरोबाट जोगियोस् भनेर बारी बनाइएको हो । प्रशोधन विधि नभएकाले दाना छुट्याउँदा पनि लट्ठीले पिटेर झार्नुपर्ने बाध्यता रहेको छ ।

चाल्नोले चालेर दाना र भुस छुट्याएपछि बल्ल बिक्रीका लागि योग्य हुन्छ । दाना र भुस छुट्याउन चाल्नोले चालेपछि पनि नाङ्लोले निफन्नुपर्छ । प्रक्रिया नै झन्झटिलो भएकाले कोदो फल्ने ठाउँलाई बिराएर खेत बनाएको र खेत नभएको ठाउँमा अलैंची लगाएको अलैंची कृषक सञ्जालका अध्यक्ष शिवकुमार गुरुङ बताउँछन् । आफू स्वयंले पनि कोदो फल्ने ठाउँमा अलैंची लगाएको उनले बताए ।

पकाउँदा दानालाई ढिकीमा फल्ने, त्यसपछि बोरा वा थुन्सेमा लगाएर धारामा पखालेपछि मात्रै पकाउन योग्य हुन्छ । शरीरमा पोषण पुर्‍याउन र पानीको मात्रा बढाउन तोङ्वा गाउँघरदेखि सहरबजारमा प्रचलित छ । हिमाली गाउँमा त बिहानै तोङ्बा लगाउने र लिएर गोठमा गएर बस्तु चराउँदै पिउने प्रचलन रहेको छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments